सहारा दैनिक

spot_img
Homeदेशमुलुकलाई अगाडि बढाउन संविधान संशोधन आवश्यक–वरिष्ठ उपाध्यक्ष पोखरेल

मुलुकलाई अगाडि बढाउन संविधान संशोधन आवश्यक–वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ, ३२ साउन (रासस)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकलाई विकास, समृद्धि र स्थिरताको बाटोमा अगाडि बढाउन संविधानका केही प्रावधानलाई संशोधन गर्न आवश्यक रहेको रहेको बताउनुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद्ले आज यहाँ आयोजना गरेको “काठमाडौँ सहरीकरणः वर्तमान प्रवृक्ति, योजना र लगानी” बिषयक अन्तरत्रियामा उहाँले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिले मुलुकमा देखिएको राजनीतिक अस्थिरता अन्त्यको सुरुआत गरेको समेत बताउनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधनको बहस बहसका लागि आग्रह गर्नुभयो । “शासकीय स्वरूप र निर्वाचन प्रणालीमा देखापरेका समस्या तथा संविधानमा कतिपय कुरा मिलाउनुपर्ने छन् । यसबीचमा संविधानको व्यवहारिक अभ्यासका क्रममा देखापरेका संगति नमिलेका कुराहरू सच्च्याउने अवसर पनि छ”, उहाँले भन्नुभयो, “विज्ञहरूले यति बेला मन खुलाएर कहाँ कहाँ सच्च्याउनुपर्ने हो । त्यस विषयमा सुझाव दिन जरूरी छ । त्यसैले म देश विकासका लागि राजनीतिक प्रणालीमा के के गर्न आवश्यक छ, त्यसमा पनि सुझावका लागि आग्रह गर्दछु ।”
वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौँ, ललितपुर र भक्तपुरको एकीकृत विकासका लागि भू–उपयोग नीति आवश्यक रहेको धारणा राख्नुभयो । “काठमाडौँमा बस्ती बसाउन कहाँ, खेतीपाती गर्ने कहाँ ? बजार बसाउन कहाँ ? भनेर भूउपयोग नीति प्रभावकारी ढंगबाट लागू गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “अहिलेको जस्तो जसले, जसरी, जे गरे पनि छुट पाउने अववस्था रहनुहुँदैन । त्यसैले भूउपभोग नीति कार्यान्वयन हुनुपर्छ ।”
कार्यक्रममा एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले अव्यवस्थित बसोबास व्यवस्थित गर्न पनि भूउपभोग नीति आवश्यक रहेकामा जोड दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -