काठमाडौँ, २९ असार (रासस)
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्क्रीमा नियुत्त हुन लाग्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराहृन ५ बजेसम्मको समय दिनु भएको छ । राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्क्री नियुत्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन् ।
चौथो पटक प्रधानमन्त्री हुन लाग्नुभएका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गर्नुहुने प्रबल सम्भावना रहेको दुवै दलका दोस्रो तहका केही नेताहरुले बताएका छन् । एमालेका प्रमुख सचेतक महेश वर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्क्रीमा अध्यक्ष ओलीलाई नियुत्तिपछि सोमबारभित्रै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिनुभयो । पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् ।
यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसक्नुभएको छ । लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लाग्नुभएका उहाँले लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भोग्नुभएको थियो ।
एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै
Facebook Comments Box