सहारा दैनिक

spot_img
Homeसमाचारएमाले अध्यक्ष ओलीद्वारा प्रनि थापाको मृत्युप्रति दुःख व्यक्त

एमाले अध्यक्ष ओलीद्वारा प्रनि थापाको मृत्युप्रति दुःख व्यक्त

भक्तपुर, २२ असार (रासस)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक ४२ वर्षीय उमेश थापाको निधनले निकै दुःखी र स्तब्ध बनाएको बताउनुभएको छ ।
ओलीले आज समवेदना सन्देश जारी गर्दै धेरै नबोल्ने र लजालु स्वभावका थापा काम एवं जिम्मेवारीमा जतिबेला पनि तम्तयार रहने गरेको स्मरण गर्दै थापाको निधनले निकै दुःखी बनाएको बताउनुभएको छ ।


ओलीले लेख्नुभएको छ, “सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु । आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ । हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको निधनको खबरले दुःखी बनायो । उनको परिवारजनमा समवेदना व्यक्त गर्दछु ।”
पूर्वमन्त्री एवं नेकपा (एमाले)का पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले आफ्नै छिमेकी थापाको निधनले एक असल छिमेकी र गुण्डुले राम्रो युवा गुमाउनुपरेको भन्दै शोक व्यक्त गर्नुभएको छ ।
त्यस्तै बागमती प्रदेशसभा सदस्य किरण थापाले हिजोमात्रै उनीसँंगै बोलेर गएको तर आज मृत्युको खबरले दुःखी बनाएको भन्दै अकल्पनीय दुःखद् घटनाले मर्माहत बनाएको बताउनुभयो ।
थापाको पार्थिव शरीरलाई शिक्षण अस्पतालमा शव परीक्षणपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको र पूर्वमन्त्री महेश बस्नेत, सशस्त्र प्रहरी बलका महानिरीक्षकलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको स्थानीय दिनेश थापाले जानकारी दिनुभयो ।
हिजो राति फुटबल म्याच हेर्दा अरुलाई डिस्टर्ब नहोस् भनी एक्लै सुत्न गएका उनी बिहान अचेत अवस्थामा भेटिएपछि भक्तपुर अस्पताल लगिएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -