काठमाडौँ, १५ असार (रासस)
नेपालका विभिन्न क्षेत्रमा आज विपद्जन्य घटनामा परेर १० जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोमा पुरिएर नौजनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा बागलुङको गलकोट नगरपालिका(८ काँडेबाँसको बिसौनामा एक दम्पती र स्याङ्जामा आमाछोरीको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
यस्तै, दाङको राजपुर गाउँपालिका २ मटेरियाकी ३९ वर्षीया भूमिसरा बुढा मगरको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ ।
ती घटनाहरूमा तीनजना घाइते भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो । यस वर्षको मनसुन सुरु भएपछि विपद्जन्य घटनामा परेर ३८ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा १० जनाको मृत्यु
Facebook Comments Box