सहारा दैनिक

spot_img
Homeदेशराष्ट्रको मौलिक संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको छ–महासचिव पोखरेल

राष्ट्रको मौलिक संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको छ–महासचिव पोखरेल

काभ्रेपलाञ्चोक, १० असार (रासस)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रको मौलिक संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ ।
उहाँले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११औँ अभिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको सपथग्रहण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै मौलिक संस्कति र त्यसको मूल्यमाथि भइरहेको निरन्तर विघटन र प्रहारलाई सम्पूर्ण राजनीति शक्ति एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“कुनै पनि राष्ट्रको विकास, समृद्धि र सफलताको आधार आफ्नो मौलिक संस्कति हुने गर्दछ, त्यसैले राजनीतिक आन्दोलनले उक्त प्रहारबाट मौलिक संस्कृतिको रक्षा गर्नुपर्ने अपरिहार्य आवश्यकता भइसक्यो”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले ठूला चुनौतीका रुपमा रहेका धार्मिक र जातीय अतिवाद तथा धर्मान्तरका नाममा नेपालको मौलिक संस्कृतिमाथिको प्रहारबाट रक्षा गर्नु राष्ट्रको सफलता हुने तर्क व्यक्त गर्नुभयो ।
नेता पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अर्को चुनौतीका रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तनमा योगदान पुर्‍याउने नागरिक र राज्यबीचको सम्बन्धलाई घनिष्ट बनाउने तथा चुनौतिको सामना गर्ने राजनीतिक आन्दोलनको कर्तव्य हो, यो कुरा बुझ्नुपर्दछ ।”
राजनीतिक शक्तिले मात्रै राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्य गर्ने र राष्ट्रलाई विकास र समृद्धिको यात्रामा अघि बढाउनसक्ने उहाँले दोहोर्‍याउनुभयो । उहाँले एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्न पार्टीको “मिसन–८४” सफल हुने दाबी गर्दै पार्टी सुदृढिकरणको अभियान नेताकार्यकर्ताबाटै सुरु गर्ने बताउनुभयो ।
एमालेका पोलिटब्यूरो सदस्यद्वय गोकुलप्रसाद बाँस्कोटा र कृष्ण राई, बाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलास ढुंगेल, केन्द्रीय सदस्य रेशम लामालगायतले जिल्ला कमिटीमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
गत जेठ ३० गते धुलिखेलमा सम्पन्न अधिवेशनमार्फत अध्यक्षमा राजन भुर्तेल, उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा निर्वाचित हुनुभएको थियो । यस्तै उपसचिवमा रत्नकुश रञ्जितकार र सूर्यमाया दनुवार निर्वाचित हुनुभएको थियो । भौगोलिक क्षेत्रबाट ८० सदस्य, समावेशीतर्फ १३ सदस्य र खुलातर्फ सात सदस्य गरी कूल एक सय पाँच निर्वाचित भएका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -