सर्लाही १० असार (रासस)
रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बालिकामाथि कसुर गरेको ठहर गरेको छ ।
आज सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनलाई कसुरदार ठहर गरेको हो । सरकारी वकिल कार्यालयले पेश गरेको अभियोजनअनुसार इजलासबाट बम्जनलाई दोषी ठहर भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । “आजको इजलासले बम्जनलाई बालिकामाथि कसुर गरेको ठहर गरेको छ”, उहाँले भन्नुभयो, “सजाय कति हुने भन्ने फैसला असार १७ गतेको इजलासले टुंग्याउने छ ।”
अभियुक्त बम्जन हाल पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका छन् । फैसला पूर्व आजको इजलासमा दुवैतर्फका वकिलले अन्तिम बहस गरेका थिए । बहसमा बम्जनको फक्षमा वरिष्ठ अधिवक्ता सीताराम केसी, अधिवत्ता राम घिमिरे, मनोहर झा, राष्ट्र विमोचन तिमल्सिना र दिलीप झाले बहस गर्नुभएको थियो ।
अभियोगबमोजिम कैद सजायको मागसहित जिल्ला सरकारी वकिल कार्यालय मलंगवाका प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गर्नुभएको थियो । बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जनविरुद्ध २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो । न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते बम्जनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
बम्जनले बालिकामाथि कसुर गरेको ठहर, सजाय १७ गते टुंग्याउने
Facebook Comments Box