सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ जेठ ।
पछिल्लो ४८ घण्टा भित्र पर्सा जिल्लाका विभिन्न स्थानबाट वेवारिसे अवस्थामा ४ जना मृत फेला परेका छन ।
मंगलवार पर्सा जिल्ला जगरनाथपुर गाउपालिका वडा नं. १ पबसनपुरवा स्थित दशगजा क्षेत्रमा गाडिएको अवस्थामा दुई जना पुरुषको शव फेला परे संगै पछिल्लो ४८ घण्टामा ४ जना मृत फेला परेको हो ।
जगरनाथपुर गापा वडा नं. १ बिसनपुरवाबाट भारत बिहारको नगरदेही जाने बाटो छेउको नेपाल तर्फ पर्ने ओरिया खोलास्थित दशगजा क्षेत्रमा मंगलबार बिहान पहिचान खुल्न नसकेका दुई पुरुषको शव फेला परेको छ ।
दशगजा क्षेत्र स्थित ओरिया खोलामा रहेको ४२१/५ नम्बरको सीमा स्तम्भ नजिकै नेपाल तर्फ बालुवामा गाडिएको अवस्थामा अन्दाजी ३५/४० बर्ष उमेरको जस्तो देखिने दुई पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दीपक भारतीले जानकारी दिनु भयो ।
शव फेला परेको स्थान नेपाल तर्फको भूभाग रहेको र मृतकको पहिचान नखुलेको अवस्थामा गहन अनुसन्धान भइरहेको प्रनाउ भारतीले बताउनु भयो ।
गाडिएको शव निकालेर नारायणी अस्पताल वीरगंजमा राखिएको छ ।
यस अघि सोमवार वीरगंज महानगरपालिका वडा नं. ११ स्थित रामजानकी मठ पछाडि सरिसवा खोलामा पहिचान नखुलेको अन्दाजी ५०/५१ वर्षको पुरुष व्यक्ति मृत फेला परेको थियो ।
त्यसै गरी आइतवार सांझ वीरगंज महानगरपालिका वडा नं. १६ स्थित वीरगंज–रक्सौल मुख्य नाका शंकराचार्य गेट नजिकैको चौरमा २५/२६ वर्षीय पहिचान नखुलेको युवकको शव फेला परेको थियो ।
पछिल्लो ४८ घण्टामा ४ जना मृत फेला
Facebook Comments Box