सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारकतारमा कार्यरत नेपालीलाई “केएमसी”मा उपचार गर्दा ५० प्रतिशत छुट

कतारमा कार्यरत नेपालीलाई “केएमसी”मा उपचार गर्दा ५० प्रतिशत छुट

काठमाडौँ, २१ जेठ (रासस)
संघीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उहाँहरुका आश्रित परिवारका सदस्य बिरामी भई उपचार गर्दा काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाउनुभएको छ ।
कतारस्थित नेपाली राजदूतावासमा आज भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच त्यहाँस्थित नेपाली राजदूत डा नरेशविक्रम ढकालको उपस्थितिमा काठमाडौँ मेडिकल कलेजले सम्झौता गरेको हो । सम्झौताअनुसार अब कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारको सिलसिलामा कतारमा काम गर्दै आएका नेपाली श्रमिक उपचार गर्न केएमसी आउँदा ५० प्रतिशत छुट दिइने छ ।
“कतार भ्रमणको सिलसिलामा त्यहाँ रहनुभएका गैरआवासीय नेपाली तथा कतारमै काम गर्दै आउनुभएका नेपाली नागरिकसँगको छलफलमा नेपाली कामदारको अवस्था, यहाँ बस्दा रहँदा आइपर्ने रोगको उपचारमा हुने आर्थिक समस्या र परिवारको सदस्यको उपचारलाई सहज बनाउन सहमति गरिएको हो”, सांसद डा शर्माले भन्नुभयो ।
सम्झौतापत्रमा उल्लेखित सुविधा आगामी असार मसान्तसम्म कायम रहनेछ । कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवारलाई केएमसीले अस्पताल सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउने छ । यसका लागि परिचयपत्र र नाता प्रमाणित हुने कागजात आवश्यक पर्ने उक्त सम्झौतामा उल्लेख छ ।
उपचार सेवासम्बन्धी सम्झौतापत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र सल्लाहकार इन्दिरा शर्मा (बराल) तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारका तर्फबाट परिषद्का अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हस्ताक्षर गर्नुभएको छ । यस्तै नेपाली जनसम्पर्क समिति कतारसँग भएको सम्झौतापत्रमा समितिका सभापति मोहमद अजिज अलि र महामन्त्री केदार भुसालले हस्ताक्षर गर्नुभएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -