सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारजब महिला मानवअधिकार रक्षकनै विभेद्मा परिन्...

जब महिला मानवअधिकार रक्षकनै विभेद्मा परिन्…

–सुवास दर्नाल
सोलुखुम्बु, २१ जेठ (रासस)
महिला मानवअधिकार रक्षकहरूको जिल्ला सञ्जाल सोलुखुम्बुकी अध्यक्ष बिना विक जातीय विभेदको सिकार हुनुपरेको तितो यर्थाथ सुनाउँदै एक सार्वजनिक कार्यक्रममा नै भक्कानिनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग शाखा कार्यालय खोटाङले सदरमुकाम सल्लेरीमा केही दिनअघि आयोजना गरेको “सोलुखुम्बुको मानवअधिकारको अवस्था” विषयक अन्तरक्रियामा अध्यक्ष विकले आफू समाजमा शिक्षित भनिएकाहरूबाटै विभेदमा परेको अनुभव सुनाउँदै भक्कानिनुभएको थियो ।
केही समय पहिले एउटा कार्यक्रममा जिल्लाको पञ्चन क्षेत्र पुग्दा आफुलाई दलित भएका कारण रातभर घर बाहिर राखिएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो,“ मानवअधिकारको क्षेत्रमा कार्यरत म आफैँ शिक्षित भनिएकाबाटै विभेदमा परे, त्यो दिन अरु सबैलाई घरभित्र बसाए पनि मलाई प्रवेश दिइएन । मलाई त्यो रात दलानमै बसेको पीडाले अहिले पनि पोलिरहेको छ ।”
नेचासल्यान घर भएकी उहाँले गाउँमा हुने हरेक विवाह, प्रतबन्ध, पूजापाठमा टीका लगाउँदासमेत विभेद हुने गरेको सुनाउनुभयो । “समाज सभ्य र शिक्षित हुँदैछ भनिन्छ, त्यो सहरमा होला तर हामीकहाँ त अहिले पनि उस्तै अवस्था छ”, विकले प्रश्न गर्नुभयो,“अझै कति भोग्नुपर्ने हो जातीय विभेद र अपमान ?”
सोलुदूधकुण्ड नगर कार्यपालिका सदस्यसमेत रहेका दलित अधिकारकर्मी निरकुमार नेपालीले संविधान र मुलुकमा छुवाछूत मुक्तिको कुरा गरिए पनि अझै व्यवहार लागू नभएको गुनासो गर्नुहुन्छ । नेपालीले भन्नुहुन्छ, “संविधान र कानुनले त धेरै कुरा बोलेको छ । जातीय विभदलाई कानुनी तथा सामाजिक अपराधसमेत भनिएको छ तर हामीले सहजरूपमा बाटोमा समेत हिँड्न पाउँदैनौँ । झन् घरमा मात्रै होइन, सार्वजनिक ठाउँमा पनि विभेद भोग्नुपरेको छ ।”
राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख उपसचिव गीता दाहालले सर्वोच्च शिखर सगरमाथा भएको जिल्लाका शिक्षित ठाउँमै जातीय विभेद हुनु लज्जास्पद भएको बताउनुहुन्छ । “सोलुखुम्बु सर्वोच्च शिखर सगरमाथा भएको जिल्ला हो, यहाँ विश्वका विकशित भनिएका देशहरूबाट समेत सयौँ मान्छे आउँछन्, त्यसैले पुरातवादी सोच र सामाजिक विकृतिहरू कायमै हुनु दुःखद कुरा हो । यसलाई परिवर्तन गर्न जरूरी छ”, उहाँले भन्नुभयो ।


जातीय, लैङ्गिक र अन्य गलत सामाजिक प्रथा परम्पराका कारण जिल्लामा समग्र मानवअधिकारको अवस्थामाथि नै प्रश्न खडा भएको दाहालको भनाइ छ । “छुवाछूतजस्ता सामाजिक तथा कानुनी अपराधका कारण मानवजअधिकार संरक्षमा चुनौति छ । कुनै एक व्यक्ति वा निकायले नभई सबै तहतप्काबाट विभेदविरूद्ध सामाजिक जागरणका लागि योगदान गर्न जरूरी छ । यस्ता कार्यमा मानवअधिकार आयोग सहकार्य गर्न तयार छ”, उहाँले अगाडि भन्नुभयो,“अहिलेको अवस्थामा कुनै पनि प्रकार सामाजिक विभेद कानुनले बर्जित गरेका छन् । त्यसको परिपालना नभए कानुनी कारबाहीको दायरा उभ्यान पनि सबै जागरूक बन्नुपर्छ ।”
नेपालमा कानुनतः छुवाछुतको अन्त्य भएको करिब छ दशक भइसकेको छरु। छुवाछूतलाई दण्डनीय फौजदारी अपराधका रूपमा परिभाषित गरी जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ प्रचलनमा आएको पनि १३ वर्ष भइसकेको छरु। २०६३ को अन्तरिम संविधानको धारा १४ ले गरेको जातीय विभेदविरुद्धको मौलिक हकलाई नेपालको संविधान, २०७२ ले अझै परिष्कृत रूपमा परिभाषित गरेको छ ।
संयुक्त दलित एकता समाजका अध्यक्ष कान्छाबहादुर विश्वकर्मा कानुनले अपराध र राज्यले छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पनि व्यवहारमा कार्यन्वयन हुन नसकेकामा खेद प्रकट गर्नुहुन्छ ।
राजनितिकर्मी नरेन्द्र थापा मगर पनि छुवाछूत मानव सभ्यताका लागि कलङ्क भएकाले यसको अन्त्यका लागि सामूहिकरूपमा पहल गर्नुपर्नेमा जोड दिनुहुन्छ । जिल्लाका धेरै अधिकारकमीहरू छुवाछूत अन्त्यका लागि स्थानीय प्रहरी प्रशासनबाट समेत पर्याप्त सहयोग नपाएको गुनासो गर्छन् ।
खड्ग बहादुर हिङ्माङ अब राज्यका निकायसहित सरोकार भएका सबै मिलेर सामाजिक तथा सबै प्रकारका जातीय विभेद अन्त्यका लागि एकसाथ अगाडि बढ्नुपर्ने धारणा राख्नुहुन्छ । “विभेद अपराध हो भन्ने विषय कानुनमा उल्लेख भएपनि यसको कार्यन्वयनमा सबै लागेमा समाज विभेदमुक्त हुन सक्छ । त्यसैले राष्ट्रिय मानवअधिकार आयोग सबैसँग मिलेर कानुन परिपालनाका लागि सहकार्य गर्न तयार छ”, खोटाङका मानवअधिकार अधिकृत दिपेश बस्नेत भन्नुहुन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -