सहारा दैनिक

spot_img
Homeअर्थनिजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छ–पूर्वअर्थमन्त्रीहरु

निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छ–पूर्वअर्थमन्त्रीहरु

काठमाडौँ २० जेठ (रासस)
पूर्वअर्थमन्त्रीहरुले निजी क्षेत्रको मनोबल बढाए मात्र बजेट कार्यान्वयनमा सहज हुने बताएका छन् ।
इकोनोमिक मिडिया सोसाइटीले आज यहाँ आयोजना गरेको “आव २०८१/८२ माथिको छलफल”मा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट कार्यान्वयनका लागि निजी क्षेत्रको विश्वास जगाउनुपर्ने बताउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्षसमेत रहनुभएका पाण्डेले छिमेकी मुलुकमा निजी क्षेत्र बलियो भएको कारण त्यहाँको आर्थिक विकास सकारात्मक दिशातिर अगाडि बढेको बताउनुभयो । “निजी क्षेत्रमा गएको ऋणबाट प्रतिफल नआउँदासम्म देशको आर्थिक विकासले गति लिन सक्दैन”, उहाँले भन्नुभयो ।
पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले पुरानो योजनामा बजेट नराखी नयाँ योजना अगाडि सार्दा विकास योजनाले गति लिन नसक्ने बताउनुभयो । “हरेक वर्ष नयाँ योजना थप्ने तर कार्यान्वयन नहुने परिपाटी बनेको छ”, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका डा महतले तलब भत्ता, सामाजिक सुरक्षा र विदेशमा तिर्नुपर्ने ऋणका कारण नेपालको अर्थतन्त्र दबाबमा परेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रलाई जाने पैसा सरकारले बैंकबाट आन्तरिक ऋण लिँदा उद्योग कलकारखाना सञ्चालन हुन नसक्ने र यसले प्रतिफल दिन नसक्ने स्पष्ट पार्नुभयो । राजश्व भनेजति उठाउन नसक्दा समस्या पर्ने उहाँको भनाइ छ ।
पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले देशको विकासका लागि निजी क्षेत्रको मनोबल बढाउन जरुरी रहेको बताउनुभयो । “उहाँले निजी क्षेत्रको मनोबल बढाउनका लागि गर्नुपर्ने काम बजेटले गर्न सकेन”, डा खतिवडाले भन्नुभयो । गत वर्षहरुको तुलनामा यसवर्ष बजेट राम्रो आएको उहाँको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बजेटले निजी क्षेत्रको अधिकांश समस्यालाई सम्बोधन गरेको बताउनुभयो । उहाँले आव २०८१/८२ को बजेटले सूचना प्रविधिलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहाँले बजेटलाई इमान्दारितापूर्वक कार्यान्वयन गरेमात्र सोचे जस्तो आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताउनुभयो ।
निजी उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतिपय नीतिगत कुरा पटकपटक परिवर्तन गर्दा निजी क्षेत्र समस्यामा परेको बताउनुभयो । “नेपालमा लगानीको सम्भावना छ भन्ने महसुस राज्यले निजी क्षेत्रलाई दिलाउनुपर्छ”, उहाँले भन्नुभयो ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगी व्यवसायीको मनोबल उच्च नराखेसम्म सरकारले राखेको लक्ष्य पूरा हुन नसक्ने बताउनुभएको थियो ।
अर्थशास्त्री प्रा डा अच्युत वाग्लेले राजस्वको परम्परागत स्रोतले बजेटले राखेको लक्ष्य पूरा हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले अहिलेको आर्थिक सङ्कट बजेटले सम्बोधन गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले सरकारले यथेष्ट छलफल र सल्लाह नगरी बजेट ल्याउने बताउनुभयो ।
इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले शिथिल अर्थतन्त्रका बीच बजेट आएको भन्दै यसलाई कार्यान्वयन गर्नका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -