सहारा दैनिक

spot_img
Homeदेशबागमतीराजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैन–उपसभापति गुरुङ

राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैन–उपसभापति गुरुङ

मनहरी, १० जेठ (रासस)
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब नभएको बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाज मकवानपुरले आज हेटौँडामा आयोजना गरेको “प्रजातान्त्रिक दर्पण २०८१” विमोचन तथा सम्मान कार्यक्रममा उहाँले नेपाली राजनीतिमा देखिएको खराब प्रवृत्तिलाई निरुत्साहन गर्न सके निराशालाई आशामा बदल्न सकिने धारणा राख्नुभयो ।
उपसभापति गुरुङले भ्रष्ट्राचारसँग जोडिएका कुनै पनि दलका नेताहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न कांग्रेस सधैँ तयार रहेको बताउनुभयो । “कांग्रेसले भष्ट्रचारीविरुद्ध आवाज उठाउँदै आएको छ । त्यसका सुरुआत हामी आफैँबाट गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले प्रजातन्त्रलाई थप सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजजस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्नुभयो ।
समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्र, सङघीय शासन व्यवस्था र जनताका समृद्धिका पक्षमा आवाज उठाई प्रजातान्त्रिक विचारलाई संस्थागत गर्दै लैजानुपर्ने बताउनुभयो ।
समाजका पूर्वकेन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले बौद्धिक व्यक्तित्व रहेको समाजले देशमा संकट छाएको बेला उल्लेख्य भूमिका खेल्दै आएको भन्दै त्यसलाई थप सशक्त बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा समाजका बागमती प्रदेश अध्यक्ष भरत दवाडीले विधिको शासन जोगाउन विचार समाज स्थापना भएकाले सोहीअनुसार क्रियाशील हुनुपर्ने बताउनुभयो । समाजका अध्यक्ष डा. देवचन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, हेटौँडा उपमहानगरका पूर्वसभापति आनन्दराम पराजुलीलगायतले आफ्नो विचार राख्नुभएको थियो ।
सोही अवसरमा प्रजातान्त्रिक सेनानी सम्मानबाट अशोक श्रेष्ठ, यादवराज पराजुली, परमेश्वर भ्लोन, हरिनन्द खरेल र स्वर्गीय ईश्वरचन्द्र अग्रवाललाई मरणोपरान्त सम्मान गरिएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -