सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ बैशाख ।
जनता समाजवादी पार्टी नेपालबाट फुटेर गठन भएको जनता समाजवादी पार्टी (जसपा) को वीरगंजमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
नेता अशोक राईको नेतृत्वमा गठन भएको जसपाको बुधवार वीरगंज स्थित जिल्ला समन्वय समिति पर्साको सभाहलमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरीको अध्यक्षतामा आयोजित अगुवा कार्यकर्ता भेलामा नेताहरुले उपेन्द्र यादवको नेतृत्व जसपा नेपाल भन्दा शक्तिशाली र सबल भएर पार्टी अघि बढ्ने बताएका छन ।
भेलामा जसपाका केन्द्रीय सदस्य एवं वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पार्टीलाई शक्तिशाली बनाउन संगठन निर्माणमा सशक्त भएर लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्नु भयो ।
उहाले जसपा नेपाललाई उपेन्द्र यादवले प्राइभेट कम्पनी लिमिटेडेका रूपमा चलाएकाले आफूहरूले विद्रोह गरेर नयाँ दल बनाएको बताउदै उपेन्द्र यादवले रकम लिएर मन्त्री बनाउने, प्रदेश सरकारका मन्त्रालयका योजनाहरू पहिल्यै कमिसन लिएर पालिकाहरूलाई वितरण गर्ने, जिल्लामा पार्टीभित्र कुनै विवाद हुंदा समाधानको सट्टा आफूले नै गुटउपगुट बनाएर हिंड्ने जस्ता अराजकता मच्चाएको आरोप लगाउनु भयो ।
नयाँ दल जसपालाई अब नयाँ शीराबाट अगाडि बढाउने भन्दै मेयर सिंहले यो दलमा सबै तहका नेता कार्यकर्ताको समान मूल्यांकन गरिने बताउदै आबद्ध हुन आहृवान पनि गर्नु भयो ।
भेलामा जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (अजय सर्राफ), पूर्व प्रदेशसभा सदस्यहरू जनत अन्सारी, भीमा यादव, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली, वीमनपा वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, वडा नं. १० का वडाध्यक्ष सुशील साह कानु, वडा नं. १५ का वडाध्यक्ष रमेश यादव, वडा नं. १८ का वडाध्यक्ष उमाशंकर तिवारी, वडा नं. २९ का धर्मेन्द्र चौधरी, वडा नं. ३० का वडाध्यक्ष मनोज यादव, वडा नं. ३२ का वडाध्यक्ष रियाज लगायत जसपाका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
Facebook Comments Box