सहारा दैनिक

spot_img
Homeईपेपरविद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

नुवाकोट, २५ वैशाख (रासस)
नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ ।
दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौँ निवासी रुविन रावल र स्वीकार राना छन् । उनीहरुको उमेर करिब २०–२१ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँको अनुसार घाइते हुनेमा उपकार थापा र ऋतिक तिवारी रहेका छन् ।
उनीहरुको त्रिशूली अस्पताल नुवाकोटमा उपचार हुन नसक्ने भएकाले थप उपचारको लागि काठमाडौँ पठाइएको अस्पतालका प्रमुख डा राजेन्द्र लामाले जानकारी दिनुभयो । घाइतेमध्ये थापाको टाउको, हात, खुट्टालगायतमा घोट लागेको छ भने तिवारीको देव्रे खुट्टा भाचिएको छ ।
काठमाडौँको बानेश्वरस्थित ग्लोबल कलेजमा अध्ययनरत उनीहरु कक्षा १२ को अन्तिम परीक्षा सम्पन्न भएसँगै दशजना साथीहरु मिलेर पाँचवटा मोटरसाइकलमा धादिङ घुम्न जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।
नुवाकोटको बट्टारस्थित अर्किड एकेडेमीको बा३क ३७२२ नंको बस बेलकोटगढी–८ काशीटारमा विद्यार्थी छाडेर फर्किन लागेको समयमा दुईवटा मोटरसाइकल ठोक्किएको हो ।
बागमती प्रदेश ०२–०४६ प १५२९ नंको मोटरसाइकलमा चढेका रुविनको घटनास्थलमा र स्वीकार को उपचारको क्रममा त्रिशूली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०२–०४४ प ३६९२ नंको मोटरसाइकलमा चढेका उपकार र ऋतिक गम्भीर घाइते भएकाले उपचारको लागि आज नै काठमाडौँ पठाइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -