सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० बैशाख ।
अन्ततः पर्सा प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको कपडा सहितको मधेश प्रदेश ०३–००२ ख १०५ नम्बरको मालवाहक मिनी ट्रक आर्थिक चलखेल पश्चात छुटेको छ ।
प्रहरीले उक्त मिनि ट्रक नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गर्दा विल विजक भन्दा फरक मालसामान रहेको आशंकामा राजस्व अनुसन्धान कार्यालयमा बुझाए पनि राजस्वका सुब्बा आमिर दाहाल र सामान धनीका प्रनितिधि विचको आर्थिक चलखेल पश्चात छुटेको श्रोतले जनाएको छ ।
उक्त ट्रकमा रहेको झण्डै एक करोड मुल्य बराबरको कपडाहरुको रु. ६० लाखको मात्र अनलाईन विल (ख्ऋत्क्) जारी गरिएको सुचनाको आधारमा प्रहरीले बैशाख १६ गते सांझ नियन्त्रणमा लिए देखिनै विनोद रोडवेज रक्सौलका संचालक विनोद अग्रवालले आफ्ना कर्मचारी बद्री मार्फत चलखेल सुरु गरेका थिए ।
आर्थिक चलखेलको प्रभावमा नपरेर पर्सा प्रहरीले १७ गते उक्त कपडा बोकेको मिनि ट्रक थप अनुसन्धान तथा आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो ।
उक्त मिनि ट्रकमा लोड रहेको कपडाको दरबन्दी, मुल्यांकन र अदत परिवर्तन गरी वीरगंज भन्सार कार्यालयका सम्बन्धित मास्टर र जांचकीलाई मिलाएर न्यून राजस्व बुझाएर जांच पास गरेको भन्ने सुचना प्रहरीलाई थियो ।
प्रहरीलाई प्रभावमा पार्न असफल अग्रवालका कर्मचारी बद्रीले राजस्व अनुसन्धान कार्यालय पथलैयाका सुब्बा आमिर दाहाल मार्फत आर्थिक चलखेल गरी राजस्व प्रमुखबाट कार्यालयमा भरखरै सरुवा भएर आएका अधिकृत मनोज सैनी र स्वयम दाहालले उक्त मिनि ट्रकमा रहेको मालसामान चेकजांच गर्न तोक लगाउन सफल भए र सोही बमोजिम चेकजांचको नाटक मंचन गरी कैफियत नै नदेखाइ १८ गते सांझ ८–९ बजे तिर कपडा सहित उक्त मिनि ट्रक छाडिएको श्रोतबाट बुझिन आएको छ ।
यस सम्बन्धमा उक्त मिनि ट्रकको मालसामान चेकजांच गर्ने अनुसन्धान अधिकृत मनोज सैनी संग जिज्ञासा राख्दा उहाले आएकै दिन चेकजांच गरी कैफियत फेला नपरे पछि छाडिएको बताउनु भयो ।
जबकी सुचना अधिकारी प्रमोद चौधरीले १८ गते सांझ छाडिएको जानकारी दिनु भयो ।
गृहमन्त्रालयको कडा निर्देशन पछि सिमानाकाहरुबाट हुने अवैध ओसार पोसारमा कमी आए पछि वीरगंज भन्सार कार्यालय परिसर अहिले तस्करहरुको अखाडा बन्न पुगेको बताइन्छ ।
वीरगंज भन्सार कार्यालयका केही अधिकृत तथा कर्मचारीहरुलाई आर्थिक प्रभावमा पारेर तस्करहरुले अहिले भन्सार कार्यालय (आइसिपि) परिसरलाई नै प्रयोग गरेर अवैध कारोबारका धन्धालाई निरन्तरता दिएको बुझिन आएको छ ।
समाचार श्रोतका अनुसार विगतमा सुरक्षा निकायलाई आर्थिक प्रभावमा पारेर सिमा क्षेत्रबाट भन्सार छली गरी तस्करी गर्ने तस्करहरु अहिले वीरगंज भन्सार कार्यालय (आइसिपि) परिसरबाट केहि क्लियरिङ एजेन्ट मार्फत दैनिक रुपमै करोडौं मुल्य बराबरको भारतीय कपडा लगायतका सामानहरु भन्सार राजस्व छली गरी नेपाल भित्रियाएर गन्तव्य सम्म पुर्याउने गरेका छन ।
विनोद रोडवेजका संचालक विनोद अग्रवाल सहित केही क्लियरिङ एजेन्टहरुले काठमाण्डौंका कपडा किंग भनिने व्यापारीहरुको भारतबाट आउने कपडाहरु ठेक्का नै लिएर वीरगंज भन्सार कार्यालयबाट दरबन्दी, मुल्यांकन र अदतमा हेराफेरी गरी जांचपास गराई न्यून राजस्व तिरेर विगतमा तस्करहरुले पोकाको रु. १५ हजारमा पुर्याए सरह नै अहिले पुर्याउने गरेको भरपर्दो श्रोतको दावी छ । जबकी दरबन्दी, मुल्यांकन र अदतमा हेराफेरी नगर्दा एक पोका कपडाको कम्तिमा ४० देखि ५० हजार सम्म भन्सार राजस्व मात्र बुझाउनु पर्ने व्यवसायीहरु बताउछन ।
तस्करहरुले अहिले महंगो मानिने कुर्ता सुरुवाल, सर्टिङ, सुर्टिङ, इम्बोडरी सारीमा खास गरी राजस्व छली गर्ने चलखेल गर्ने गरेका छन ।
भान्सारको लक्ष्य बमोजिम राजस्व संकलन हुन नसक्दा सरकारले सिमा क्षेत्रबाट हुने अवैध ओसार पोसारलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिए पछि अहिले राजस्व संकलक निकाय भन्सार कार्यालय र राजस्व चुहावट नियन्त्रण गर्ने निकाय राजस्व अनुसन्धान कार्यालय कै कर्मचारीहरुले यसरी तस्करहरु संग सांठगांठ गर्दा सोझा साझा व्यवसायी मारमा परेका छन भने राज्यको राजस्व संकलनमा दिन प्रति दिन हृास आएको छर्लङ छ ।
Facebook Comments Box