सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ चैत्र ।
वीरगंजका विभिन्न होटलहरुमा वैधानिक रुपमा संचालित जुवाघर (क्यासिनो)मा अवैध कारोवार भइरहेको समाचार बुझिन आएको छ ।
क्यासिनोहरुमा नेपाली नागरिकलाई प्रवेश निषेध भनिए पनि वीरगंजमा संचालित प्राय सवै क्यासिनोमा नेपालीहरु नै जुवा खेल्ने गरेको पछिल्लो समय भाइरल भएको भिडियो र तस्वीरले पुष्टि गरेको छ ।
केही दिन अघि वीरगंज स्थित दियालु लर्डस प्लाजामा संचालित क्यासिनोमा भएको झगडाका दृष्यको भिडियो र तस्वीर भाइरल भएको छ ।
उक्त भिडियो र तस्वीरमा देखिएको जुवा खेलिरहेकाहरु सबै नेपाली नागरिक रहेका छन ।
यस अघि भिष्वा होटलमा संचालित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश दिएको सुचनाको आधारमा प्रहरीले अनुगमन गर्दा त्यहाका बाउन्सरहरुले अवरोध गरेका थिए ।
भिष्वा होटलको क्यासिनोबाट प्रहरीले केही व्यक्तिलाई पक्राउ समेत गरेका थिए ।
तर पनि वीरगंजमा संचालित सबै क्यासिनोहरुमा नक्कली परिचय पत्रको आढमा अझ नेपाली नागरिकहरुनै जुवा खेल्ने गरेको श्रोतले जनाएको छ ।
यहाका क्यासिनोहरुमा नेपाली नागरिक त्यो पनि प्राय वीरगंज कै युवा व्यवसायीहरुको प्रवेश अधिकांश रहने गरेको बताइन्छ ।
कतिपय युवा व्यवसायीहरु वैधानिक जुवाघर (क्यासिनो)मा प्रवेश पाउदा व्यापार व्यवसाय मात्र नभई घरवार विहिन समेत भएको एक पिडित परिवारले राष्ट्रिय सहारालाई बताएका छन ।
समाचार श्रोतका अनुसार क्यासिनोहरुमा वीरगंज कै केही व्यवसायीहरुले मिटरव्याजको कारोवार समेत गर्ने गरेका छन ।
जुवा खेल्न पुग्ने स्थानीय युवाहरु हारे पछि उनीहरुबाट २० देखि ३० प्रतिशत व्याजमा रकम लिएर व्याज सहित बराबरको तत्कालै चेक दिने गरेका छन ।
जुवा खेल्ने क्रममा जित हात पारे तत्कालै ब्याज सहित रकम दिएर चेक फिर्ता लिने गरेका छन भने हार बेहोरे पछि पसल तथा गरगहना नभए घरवार समेत बेचेर तिरेको घट्ना पनि घटेको एक व्यवसायीले बताएका छन ।
त्यस्ता पिडित परिवार भने जुवामा हारेका कारण प्रहरी प्रशासनमा कहि कतै उजुरी गर्दा आफै फन्दामा परिने त्रासका कारण त्यो पनि नगरेको एक पिडित एवं भुक्तभोगी परिवारले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा राष्ट्रिय सहारालाई बताएका छन ।
पिडित परिवारहरुले भने स्थानीय प्रहरी प्रशासनले नियमित अनुगमन गरिनु पर्ने बताउछन ।
क्यासिनोमा जुवा खेल्न कै निम्ति नेपाली नागरिक, युवा तथा व्यवसायीहरुको लागी नक्कली भारतीय परिचय पत्र बनाउने गिरोह पनि सकृय रहेको बताइन्छ भने कतिपय नेपाली र भारतीय दुई देशका नागरिकता समेत लिएका व्यक्तिहरु जुवा खेल्न पुग्ने गरेको श्रोतले जनाएको छ ।
वीरगंज स्थित दियालु लर्डस प्लाजा, होटल सुरज, होटल भिष्वा, र्क्लाक रिसोर्ट र होटल पुजनमा जुवाघर (क्यासिनो) संचालनमा रहेको बताइन्छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले हामीले नियमित अनुगमन गरिरहेका छौं, कारवाही पनि गरेको बताउनु हुन्छ ।
उहाले अनुगमनका क्रममा भारतीय अथवा विदेशि नागरिक भएको परिचय पत्र देखाए पछि हामीले केही गर्ने कुरै भएन भन्नु भयो ।
स्थानीय भए नभएको हामीलाई जानकारी हुने कुरै भएन र कसैले उजुर वाजुर नगरे पछि हामीले के गर्ने भन्नु भयो ।