बारा, १५ फागुन (रासस)
निजगढ नगरपालिका ७ “रोहित वर्कशप”मा बमजस्तो देखिने शङ्कास्पद वस्तु पड्किँदा घाइते दुईको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत गवाहीका ३५ वर्षीय राकेश जयसवाल र वीरगञ्ज महानगरपालिका ९ का रितु रजत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । घाइतेहरूको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बम जस्तो देखिने वस्तु सोमबार बिस्फोट हुँदा वर्कशप सञ्चालक निजगढ नगरपालिका(९ का रेशम जर्घा मगरको घटनास्थलमै मृत्यु भएको थियो । कवाड सञ्चालक राज जैसवालले बमजस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएको र काट्ने क्रममा सो वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका(९ का फिरोद देवान र भारत राम गढवाका अरीवन साह रहेको प्रहरी प्रवक्ता न्यौपानेले भन्नुभयो ।
साथै वर्कशपमा सो वस्तु ल्याउने कवाड पसल सञ्चालक भारतीय नागरिक राज जैसवाल र उनकी श्रीमती सुशीलादेवी जैसवाललाई भारत भाग्नेक्रममा पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभएको छ । घटनाबारे अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।
Facebook Comments Box