सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ फागुन ।
पर्सा क्षेत्र नं. १ का सांसद एवम् पुर्वमन्त्री प्रदीप यादवले मुलुकको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समितिको सेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
राष्ट्रिय समाचार समितिको ६३ औं वार्षिकोत्सवको सन्दर्भमा शुक्रवार रासस वीरगंज कार्यालयद्वारा आयोजित “जिम्मेवार पत्रकारिता र राससको झूमिका” विषयक अन्तर्क्रिया कार्यत्रममा सांसद यादवले राष्ट्रिय समाचार समितिको सेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको हो ।
उहाले रासस मुलुकको प्रतिष्ठा र हुलाक टिकटजस्तै भएकाले यसलाई सबल, आत्मनिर्भर र सेवालाई प्रभावकारी बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाले छिमेकी मुलुक भारतमा पनि समाचार एजेन्सी छन् । त्यहाको सरकारले ती समाचार एजेन्सीलाई अत्यन्त महत्व दिएर सोहीअनुसार विशेष सेवा सुविधा दिएका छन्, मुलुकको एक मात्र समाचार एजेन्सी राससप्रति राज्यको उचित ध्यान पुग्न नसकेको बताउदै राससलाई जनताको संचारमाध्यमका रुपमा विकास गर्न जरुरी छ भन्नु भयो ।
सांसद यादवले आवाजविहीन र दूरदराजका जनताको आवाजलाई राससले समेट्नुपर्ने सुझाव दिंदै किसान सिंचाइ, बीउबिजन र मलखाद्य नपाएर छटपटाइरहे पनि राष्ट्रियस्तरका संचारमाध्यमले किसानको समस्यालाई उचित स्थान नदिएकोप्रति गुनासो पनि व्यक्त गर्नु भयो ।
उहाले नेपाली प्रेसले ठुल्ठुला तानाशाहहरुको सेखी झारेको बताउदै समाजलाई सही मार्ग देखाउन र सुशासन कायम गर्न प्रेसले ठुलो भूमिका खेलेको बताउनु भयो ।
रासस वीरगंजका प्रमुख राजु विश्वकर्माको अध्यक्षतामा आयोजित अन्तरकृयामा कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले आधिकारिक, विश्वसनीय, सन्तुलित समाचार सम्प्रेषणमा राससले खेलेको भूमिका प्रशंसनिय रहेको बताउनु भयो ।
त्यसै गरी अन्तरकृयामा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जारा, नेपाल पत्रकार महास्घं पर्साका सभापति अनुप तिवारी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दास, नेपाल पत्रकार महासंघ पर्साका पूर्वसभापति अशोककुमार तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रीय महासचिव रामकुमार एलन, प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतम, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी लगायतले संचार क्षेत्रमा राससले पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
Facebook Comments Box