सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ माघ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले धार्मिक गतिविधिले मानवलाई सकारात्मक सोच र सही मार्गमा हिँड्न प्रेरित गरिरहेको बताउनुभएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १४ चिनी मिल आवास परिसर स्थित पशुपतिनाथ मन्दिरमा सुरु भएको सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुन्ज एवं नौ दिवसीय श्री विष्णु महायज्ञको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताउनु भएको हो ।
महायज्ञको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महायज्ञ, भूमिपुजन लगायतका धार्मिक अनुष्ठानले मानव मानवबीच सद्भाव कायम गर्न र मानवलाई सही मार्गमा हिँड्न प्रेरित गरिरहेको बताउनुभयो ।
आपसी खिचातानी, मनमुटावलगायतका कारण समाजमा अशान्ति बढिरहेका बेला यस्तो धार्मिक अनुष्ठानले शान्ति, अमचयन र भातृत्व प्रबर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाले महायज्ञले शान्ति कायम गर्न र पारस्परिक एकता प्रबर्द्धन होस् भन्ने कामना पनि गर्नुभयो ।
महायज्ञ व्यवस्थापन समितिका संयोजक अनिल कुमार रुंगटाको अध्यक्षतामा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले धर्मले सत्यको बाटोमा हिँड्न प्रेरित गर्ने गरेको बताउनु भयो ।
उहाले धर्मलाई जोगाउन धर्मगुरुको योगदान महत्वपूर्ण रहेको बताउनु भयो ।
सो अवसरमा उपराष्ट्रपति यादवले महायज्ञ सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
वरिष्ठ कथावाचिका साधवी लक्ष्मी माता तथा अन्य कथावाचकद्वारा नौ दिनसम्म सञ्चालन हुने महायज्ञमा दश लाख श्रदालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ ।
महायज्ञमा नौ दिनसम्म श्रीराम नाम जप, रामचरित्र मानष पाठ, कथा बाचन, रासलिला लगायतका धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना हुने महायज्ञ व्यवस्थापन समितिका संयोजक रामप्रवेशप्रसाद कुर्मीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य अजय चौरसिया, नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
Facebook Comments Box