जनकपुरधाम, २१ माघ (रासस)
मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले संघीयता कार्यान्वनका लागि सुशासन र अधिकार प्राप्तिका मुद्दासँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रदेशसभा स्थापनाको छैटौँ वार्षिकोत्सवका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँहरुले संघीयतालाई सुदृढ गर्न जनताले अनुभूत गर्नेगरी सुशासन र अधिकार प्राप्तिको मुद्दासँगसँगै अगाडि बढाउनुपर्ने तथा त्यसका लागि सबै दल मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।
त्यस अवसरमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले संघीयता ल्याउन भूमिका निर्वाह गरेका राजनीतिक दलहरूले नै यसलाई जोगाउन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनचाहनाअनुसारको विकास गरेमात्र संघीयता बलियो हुने भन्दै सरकार र दलहरूलाई त्यसमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा विकास र सुशासनका लागि सबै दललाई साथमा लिएर अगाडि बढ्न सुरुदेखि नै प्रयास गरिरहेको र अधिकार प्राप्तिका लागि सातै प्रदेशका मुख्यमन्त्रीसँग मिलेर आवश्यक दबाब सृजनाको काम पनि गरिरहेको बताउनुभयो । उहाँले राम्रो काम गर्नका लागि आफ्नो नेतृत्वको सरकारलाई कुनै दबाब र प्रभावमा पार्ने काम आफूले कहिल्यै नगर्ने स्पष्ट पार्नुभयो ।
“प्रदेशको विकासका सवालमा मेरो नेतृत्वमा रहेर सबै दलका नेताले काम गरिसक्नुभएको छ । अहिले रहेका पाँच दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई पनि जनहितमा काम गर्न निर्देशन दिएको छु । अरूले पनि हामीलाई राम्रो कामका लागि सधैँ सहयोग गर्नुहोस्”, मुख्यमन्त्री यादवले भन्नुभयो, “बाँकी प्रदेश सरकारलाई बलियो बनाउन आवश्यक अधिकारका लागि निरन्तर पहल गरिरहेको छु । प्रधानमन्त्रीलाई पनि निकै सकारात्मक पाएको छु । भोलिदेखि सुरु हुने संसद् अधिवेशनबाट ठोस काम हुने अपेक्षा गरेका छौँ ।”
सभामुख रामचन्द्र मण्डलले सरकारले संसद्मा ल्याएका विधेयकहरू निर्माण र त्यसको कार्यान्वयनका लागि आफूले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सुशासन, विकास र जनहितका पक्षमा काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उपसभामुख बबिताकुमारी राउत इसरले प्रदेशसभाबाट बनेका कानुनको सहीरूपका कार्यान्वयन गर्दै जनअपेक्षा सम्बोधनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले पार्टी र मुख्यमन्त्री यादवको निर्देशनमा आफूहरू निरन्तर असल परिणाम प्राप्तिका लागि क्रियाशील रहेको बताउनुभयो । आगामी बजेट, नीति तथा कार्यक्रमलाई अझ बढी विकासमा केन्द्रित गर्न आफूहरू सबैको सुझाव लिएर अगाडि बढ्ने बताउनुभयो ।
नेकपा (एमाले) प्रदेश संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतो, नेकपा (माओवादी) का तर्फबाट प्रदेशसभा सदस्य माला कर्ण, जनमतबाट प्रदेशसभा सदस्य अनिता साह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलकी नेता उर्मिलादेवी सिंह, नेपाल संघीय समाजवादी पार्टी संसदीय दलकी नेता बिमला अन्सारी तरन्नुम, समारोह आयोजक मूल समारोह समिति संयोजक एवं प्रदेशसभा सदस्य कञ्चन बिछा, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलगायतले नागरिकको हितका लागि तीनै तहका सरकार र सबै पार्टी मिलेर अगाडि बढ्न जरुरी भएको बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेशसभा स्थापनाको ६ वर्षको अवधिमा पहिलो कार्यकालमा ५५ विधेयक र दोस्रो कार्यकालको एक वर्षमा सातवटा विधेयक पेस गरेर तीनवटासहित ५८ वटा विधेयक पारित गरिएको जानकारी दिइएको थियो ।
Facebook Comments Box