सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ पुस ।
वीरगंज महानगरपालिका नगरसभाको १४ औं अधिवेशनले चालु आर्थिक वर्षको वार्षिक बजेटमा रु. २५ करोड थप गर्दै विभिन्न योजना तथा कार्यक्रमहरु परिमार्जन गरेको छ ।
बुधबार देखि सुरु भएको १४ औं अधिवेशनको नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालु आर्थिक वर्षको बजेट थप गरेको हो ।
अधिवेशनले विनियोजन ऐन २०८० मा समावेश भएको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट ३ अर्ब २१ करोडमा २५ करोड बढाएर ३ अर्ब ४६ करोड पुर्याएको हो ।
अधिवेशनले खानेपानीका लागि महानगरबासीको ४ हजार घरधुरीमा धारा जडान गर्न रु. ८० लाख थप छुट्याएको नगरभामा मेयर राजेशमान सिंहले बताउनु भयो ।
उहाले भारतीय दूतावाससंगको सहकार्यमा महानगरका ४ हजार घरधुरीमा धारा जडानका लागि थप बजेट छुट्याइएको बताउनु भयो ।
दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी हुने गरि धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नु पर्ने २० प्रतिशत रकम विनियोजन गरेको उहाले बताउनु भयो ।
नगरसभामा मेयर सिंहले विभिन्न विधेयकहरु पनि पेश गर्नु भएको छ ।
वीरगंज महानगरसभाको कार्य संचालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं सम्बर्द्धन विधेयक, संघसंस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक पेश गरिएको हो ।
त्यसै गरी वस्ति विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयकपनि सभामा पेश भएको छ ।
आवश्यक कानुन अभावमा काम गर्न असहज भएकाले सभामा विधेयक पेश गरेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताउनु भयो ।
बुधबार देखि सुरु नगरसभामा उपमेयर इम्तियाज आलम,तथा नगरसभा सदस्यहरुको सहभागिता रहेको छ ।
Facebook Comments Box