काठमाडौँ, १३ पुस (रासस)
ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भन्नुभयो, “उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।”
उहाँले मृत्यु भएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने बताउनुभयो । घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो ।
कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (इपिएस)को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको थियो ।
यसै विच कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा समिति बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य हुनुहुन्छ ।
समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको छ ।
गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा इपिएस परीक्षा फारम भर्ने विषयलाई लिएर त्यहाँ जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी, आर्थिक, भौतिक, एवं मानवीय क्षतिप्रति गृहमन्क्रालयले दुःख व्यत्त गरेको छ ।