सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ पुस ।
वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुर चोकमा राखिएको शक्तिको प्रतिक भनिएको सांढेको प्रतिमा केही युवाहरुले तोडफोड गरेको घटनाको हिन्दु समाजले भर्त्सना गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष राधाकृष्ण साह रौनियार, समाजसेवी नागमणी उपाध्याय, बजरंग दहका उपाध्यक्ष रुपक यादव, हिन्दु स्वयम सेवक संघका रंजित साह र उमेश यादवले हिन्दु समाजको लेटर प्याड मार्फत संयुक्त प्रेस विज्ञप्ती जारी गरी सांढेको प्रतिमा तोडफोडको भर्त्सना गरेको हो ।
विज्ञप्तीमा महानगरले नगर सौन्दर्यकरण अभियान नै चलाएको र अहिलेसम्म महानगरका विभिन्न चोकचोक तथा पार्कहरुमा नेपालमा पाइने जीवजन्तु लगायतको प्रतिमा राख्दै आएको जानकारी भएकै बिषय हो । महानगर प्रमुख राजेशमान सिंह वीरगंजलाई धार्मीक एवं सांस्कृतिक पर्यपर्यटकीय गन्तव्य बनाउने गरी योजनावद्ध कार्यमा लागिरहेको अवस्थामा भएको यो तोडफोडले आहत तुल्याएको उल्लेख छ ।
परवानीपुरका स्थानीयले प्रतिमा विवादित रहेको भन्दै हटाउन आग्रह गरेको र महानगर प्रमुखले आफू समाजभन्दा टाढा नरही हटाउन तयार रहेको प्रतिबद्धता जाहेर गर्दा गर्दै भएको यो तोडफोडको घटना निन्दनीय रहेको हाम्रो ठहर छ विज्ञप्तीमा उल्लेख छ ।
विकासका कार्य गर्दै गर्दा महानगरले पनि आउदा दिनमा स्थानीयको माग र आवश्यकतालाई प्राथमिकता दिंदै गर्ने छ भन्ने अपेक्षा लिंदै यस घटनाबाट पाठ सिक्ने अवसर मिलेको हामीले महसुस गरेको समेत विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा परवानीपुर चोकमा तोडफोड भएको शक्तिको प्रतिक सांढेको प्रतिमा हिन्दु धर्म संस्कृति झल्कने नन्दी स्वरुपमा पुनः स्थापित गर्न पनि माग गरिएको छ ।
विज्ञप्ती मार्फत यो घटनालाई कसैले पनि राजनीतिक रोटी सेक्ने नाफा घाटाको रुपमा नलिन र अनर्गल प्रचारबाजी गरेर सामाजिक सद्भाव नविगार्न आग्रह पनि गरेको छ ।