काठमाडौँ, २३ मङ्सिर (रासस)
विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र “गाउँ आएको बाटो”को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ ।
उक्त चलचित्र नेपालमा २०८१ जेठ १८ गते चलचित्र भवनमा प्रदर्शन गरिने निर्माण पक्षले घोषणा गरेको छ ।
दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको “गाउँ आएको बाटो”को नवीन सुब्बाले निर्देशन गर्नुभएको हो । राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको सो चलचित्रमा गाउँमा सडक आएपछि बाबु(छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बाले जानकारी दिनुभयो ।
निर्देशक सुब्बाले निर्देशनको सुरुआत गर्नुभएको पहिलो चलचित्र “खाङ्ग्री” नै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो । यसअघि उहाँद्वारा निर्देशित “नुमाफुङ” फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थिए ।
“गाउँ आएको बाटो” मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गर्नुभएको छ । महेश राई र निर्देशक सुब्बाले लेख्नुभएको सो चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङले तथा हेडी लिले सङ्गीत भर्नुभएको छ ।
नेपाली चलचित्रमा भारतीय कलाकार
नेपाली चलचित्र “देव वाणी”मा अभिनय गर्न भारतीय अभिनेता हृयारी जोश नेपाल आउनुभएको छ । नकारात्मक भूमिकामा रुचाइनुभएका अभिनेता जोशले “वान्टेड”, “धूम २”, “वेलकम”जस्ता सफल तथा चर्चित बलिउड चलचित्रमा अभिनय गर्नुभएको छ । छ दिनको छायाङ्कन तालिका तय गरेर अभिनेता जोश नेपाल आउनुभएको उक्त चलचित्रका निर्देशक बाबु साहेब बलामीले जानकारी दिनुभयो ।
बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीमा अभिनेता जोशले छ दिन छायाङ्कन गरेसँगै चलचित्रको सम्पादनको कार्य सुरु हुने निर्देशक बलामीले बताउनुभयो ।
“उहाँ नेपाली चलचित्रमा अभिनय गर्ने कुराले हर्षित हुनुहुन्छ । आफ्नो भूमिका बुझेर अभिनय गर्नुका साथै समय मिल्दा काठमाडौँमा घुमघाम गरिरहनुभएको छ”, निर्देशक बलामीले भन्नुभयो, “चलचित्र हिन्दी भाषामा समेत प्रदर्शन गरिने हुँदा उहाँलाई अभिनयका लागि अनुरोध गरेका हौँ । सामाजिक कथामा आधारित भए पनि प्रेमभाव र द्वन्द्वको मिश्रण दर्शकले चलचित्रमा पाउनुहुनेछ ।”
सिमरा र वीरगञ्ज क्षेत्रमा छायाङ्कन गरिएको चलचित्र“देव वाणी”मा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारले अभिनय गर्नुभएको छ ।
अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्मस् प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको चलचित्र “देव वाणी”मा निराजन मेहता मन्जिलले कथा लेखन, श्री श्रेष्ठले द्वन्द्व निर्देशन, हरिबहादुर घलेले छायाङ्कन, रामजी लामिछाने र तेञ्जु योञ्जनले नृत्य निर्देशन, मनोहर सुनामले सङ्गीत सिर्जना तथा बन्दे प्रसादले सम्पादन गर्नुभएको छ ।
“गाउँ आएको बाटो” प्रदर्शनको समय तय
Facebook Comments Box