सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ मंसिर ।
भारतको जम्मु कश्मिर राज्यका फरार अपराधी नेपाली नागरिक रहेको खुलासा भएको छ ।
प्राप्त खबर अनुसार भारतीय प्रहरीको फरार सूचिमा रहेका कुख्यात अपराधी अमरजीत सिंह नेपाली नागरिकता लिएर नेपालमै व्यवसाय गरेर बसेको रहष्य उजागर भएको छ ।
पंजाबलाई छुट्टै देश बनाउन सशस्त्र विद्रोह गर्दै आएका खालीस्तानी संगठनसँग कनेक्सन रहेका गुरुबचन सिंहका छोरा अमरजीत सिंहले काश्मिरमा ठगी धन्धामा समेत सहभागी रहेपछि भारतीय प्रहरीको मोस्ट वाण्टेड सूचिमा राखेर खोजी गर्न थालेपछि यतिखेर उनी भेष बदलेर नेपाली नागरिकता समेत प्राप्त गरी नेपालमै व्यवसाय गरिरहेको सार्वजनिक भएको हो ।
हजारौं काश्मिरीहरूबाट अरबौं रुपैयाँ ठगी गरेको र सशस्त्र पृथकतावादी संगठन खालीस्तानीसंगठनको सदस्य रहेको भन्दै गान्धीनगर थानामा उनीविरुद्ध मुद्दा दर्ता भएपछि उनी भागेर नेपाल आएको उनी निकट स्रोतको दाबी छ ।
नेपाल आएर नाम र भेष परिवर्तन गरि बस्दै आएका अमरजित सिंहले नक्कली कागजात खडा गरी नेपाली नागरिता लिएर व्यवसाय गर्दै आएका छन् । सिंहले अवैध रुपमा आर्जन गरेको कालो धनबाट वीरगंज, काठमाण्डौ लगायतको शहरमा आलिशान भवन बनाएका छन् ।
नेपालसँगको खुल्ला सीमाना, घुस्याहा कर्मचारी एवं फितलो नागरिकता वितरण प्रणालीका कारण अमरजीत सिंहजस्ता कैयौं भारतीय कुख्यात अपराधीहरु भेष बदलेर नेपाली नागरिकता प्राप्त गरी नेपालबाट अवैध गतिविधि गर्दै आएको चर्चा छ ।
जोनल हेड क्वार्टर्स, क्राइम ब्रान्च जम्मूको खोजी सूचिमा रहेका अमरजीत सिंह नेपालमा बस्दै आएको खबर प्राप्त गरी उनलाई नियन्त्रणमा लिन आउनेहरूलाई विचौलियामार्फत दाम चढाएर पक्राउ हुनबाट बच्दै आएका छन् ।
प्रहरीले अमरजीतसिंहजस्ता अपराधी र द्वैध नागरिकलाई नियन्त्रणमा नलिंदा नेपाली भूमि समेत वित्तिय र सांगठनिक अपराधको थलो बनेको छ ।