सहारा संवाददाता–––––––––––––––
मलंगवा, १० मंसिर ।
सर्लाही जिल्ला चन्द्रनगर गाउपालिकाले चालु आर्थिक वर्षको ४ महिना बितिसक्दा पनि चालु आ.ब.को बजेट,नीति तथा कार्यक्रम ल्याउन सकेको छैन् ।
चालु आर्थिक वर्षको पहिलो चौमासिक पुरा हुंदा समेत गाउपालिका अध्यक्ष, उपाध्यक्ष तथा गाउपालिकाका जनप्रतिनिधिहरुको विवादका कारण वार्षिक बजेट,नीति तथा कार्यक्रम आउन नसकेको हो ।
चन्द्रनगर गाउपालिका, गाउकार्यापालिकामा १५ जना जनप्रतिनिधिहरु रहेका भएपनि १२ जना जनप्रतिनिधिहरु गाउपालिका उपाध्यक्ष गीता देवी महतोको पक्षमा छन् भने अध्यक्ष राज कुमार महतो सहित ३ जना जनप्रतिनिधिहरु गाउपालिका उपाध्यक्ष गीतादेवीको विपक्षमा रहेका छन् ।
त्यस्तै,३९ जना गाउसभा सदस्यहरु मध्ये ३० जना गाउसभा सदस्यहरु गाउपालिका उपाध्यक्ष गीतादेवीको पक्षमा छन् भने ९ जना गाउसभा सदस्यहरु अध्यक्ष महतोको पक्षमा रहेको गापा श्रोतले जनाएको छ ।
३ जना कार्यपालिका सदस्य र ९ जना गाउसभाका सदस्यहरुको साथमा रहेका अध्यक्ष महतोले बहुमतलाई वेवास्था गर्दै आफुखुसी निर्णयहरु गर्दै भ्रष्टाचार गर्ने र आफुखुसी निर्णय गर्न नपाए कार्यक्रमहरु गर्न नदिने गरेको आरोप गाउपालिका उपाध्यक्ष गीतादेवी लगायतका जनप्रतिनिधिहरुले लगाउने गरेका चन्द्रनगर गाउपालिका वडा नं. ३ का वडाअध्यक्ष सिताराम महतोको भनाइ छ ।
उहाले आफुहरुले रहरले नभई बाध्य भएर गाउपालिका अध्यक्ष महतोको विपक्षमा बोल्नु परेको बताउनु हुन्छ । चालु आर्थिक वर्षको बजेट,नीति तथा कार्यक्रमहरु असार १० गते नै गाउसभा गरेर ल्याउनुपर्नेमा अध्यक्ष महतोले गाउपालिकालाई कब्जा गरी आफ्नो स्वार्थ शिद्ध नहुंदा सम्म गाउसभा हुन नदिएको उपाध्यक्ष गीतादेवीले आरोप लगाइन ।
उनले गाउपालिका अध्यक्ष महतोले आफुहरु बहुमतमा रहेको भए पनि कुनै सल्लाह नगरी आफुखुसी काम गर्ने गरेका कारण विरोध गर्नु परेको बताइन । गाउसभा नहुंदा गाउपालिकाका कर्माचारी र शिक्षकहरुले तलब भत्ता खान नपाएका,सामाजिक सुरक्षा भत्ता लिन नपाएका,उपभोक्ताहरुको करिब रु. ६ करोड भुक्तानी गर्न बांकी रहेको बताइन्छ ।
गाउपालिकाको विकास निर्माणका कामहरु ठप्प भएको अवस्थामा आफुहरुले पटक–पटक गाउसभा गर्न आग्रह गरेको भएपनि अध्यक्ष महतोले अनाकानी गरि रहेका उपाध्यक्ष महतोले आरोप लगाइन ।
उनका अनुसार गाउसभा गर्न बहुमत जनप्रतिनिधिहरुले ४ पटक निवेदन दर्ता गराएको भएपनि अध्यक्ष महतोले आनाकानी गरी गाउपालिकालाई बन्धक बनाएका छन् ।
बहुमत गाउपालिका सदस्यहरुले आर्थिक वर्ष २०७९/०८० को हिसाब माग्दा असार २७ गते दिने बताएका अध्यक्ष महतोले हाल सम्म पनि हर हिसाब नदिएको, गाउपालिका भित्रका विकास निर्माणका कामको कार्यदेश गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृतले दिनु पर्ने प्रावधान भएपनि गाउपालिका अध्यक्षले आफुले दिनुपर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई पनि दवाव दिएको, आर्थिक वर्ष २०७९/०८० को गाउसभा गर्न सहजता प्रदान गरी दिंदा अध्यक्ष महतोले आफ्ना आसेपासे,नातागोता र घरपरिवारको विकासमा लागेका कारण हर हिसाब राम्रोसंग जनताको माझमा प्रस्तुत गर्न आग्रह गरेको उपाध्यक्ष गीतादेवीले बताईन् ।
आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा कुन योजनाका लागि कति रकम छ ?भन्ने कुरा गाउपालिका उपाअध्यक्ष गीतादेवी सहित कुनैपनि वडा अध्यक्षहरुलाई जानकारी नै नगराई आफुखुसी गरेका,आर्थिक वर्ष २०७९/०८० को गाउपालिकाको वार्षिक बजेट,नीति तथा योजना समेटिएको पुस्तक हाल सम्म पनि प्रकाशन नगरिएको,वडा अध्यक्षहरुको अधिकार हनन् गर्न लागि परेका,संघिय कानुनसंग बाझिने गरी ऐन नियमावाली कार्यविधि तथा संघिय सरकारले विकास निर्माणको काम गर्दा गाउपालिका अध्यक्ष महतोसंग पुर्व स्विकृत लिनु पर्ने बाध्यकारी कानुन बनाएको,गाउपालिकामा स्थायी कर्माचारीहरु हुंदा हुंदै पनि आसेपासेलाई पाल्न करारका कर्माचारीलाई योजना शाखाको जिम्मा दिएको, अध्यक्ष महतोले आफ्नो स्वमीत्वमा राखेको रकम कुन कुन शिर्षकमा खर्च गरे भन्ने हर हिसाब देखाउन नसकेको, आफुलाई अनावश्यक आरोपहरु लगाएको, अध्यक्ष महतोले आफ्नो स्वामीत्वमा राखेको करोडौ बजेटबाट शिक्षा,स्वास्थ्य,कृषि एवम नगरिकहरुका प्रत्यक्ष सरोकारका कामहरुमा कहा खर्च गरे ? भन्दै गाउपालिका वडा नं. ३ का वडाअध्यक्ष सिताराम महतोको प्रश्न छ ।
गाउपालिकालाई गैर सरकारीकरण गर्न लागेका गाउपालिका अध्यक्ष महतोले ८ करोड भन्दा बढी बजेट कुनुकुन काममा खर्च गरे,जनतासंग कुरा नामक कार्यक्रममा ७ लाख,धामी सम्मेलनमा १० लाख,सोहजन वितरणमा २२ लाख,पत्रपक्रिका खर्च ५७ लाख तथा १ वर्षमा ४ सय ७२ वटा कार्यत्रमहरु सञ्चालन गरेको भन्दै रकम सकाउने र भ्रष्टाचार गर्ने काम गरेका सो रकमको हर हिसाब जनतालाई स्पष्ट रुपमा देखाउन आफुहरुले माग गर्दा अध्यक्ष महतो अतालिएको वडा अध्यक्ष सितारामले बताउनु भयो ।
उहाले एक वर्षमा अध्यक्ष महतोले गरेको इन्धन खर्चमा भ्रष्टाचारको प्रमाण रहेको बताउनु भयो ।
राष्ट्रिय योजना आयोगबाट आएको रु १ करोड र गाउपालिकाको विकासको लागि आएको रकमबाट रु २२ लाख गरी अध्यक्ष महतोले “सोहजन आन्दोलन”को नाममा १ करोड २२ लाख अनियमितता गर्न खोजेका गाउपालिका वडा नं. ७ का वडाअध्यक्ष दिपेन्द्र कुमार चौधरीको आरोप छ ।
आफुहरु चन्द्रनगर गाउपालिकाको विकास गर्न निर्वाचित भएको र सबैको ध्यान तेता तिर जानुको सट्टा अध्यक्ष महतोको ध्यान अनियमितता तिर गएका कारण आफुहरुले विरोध गर्नु परेको गाउपालिका वडा नं. ४ का वडाअध्यक्ष राजिव सिंह दनुवार बताउनु हुन्छ ।
अध्यक्ष महतोले गत वर्षको हिसाब नै नदिएका कारण गाउसभा हुन नसकेको उपाध्यक्ष गीतादेवीले बताइन् ।उनले अध्यक्ष महतोले बसेर सबै खर्चको हिसाब दिनुपर्ने तर्क राखिन् । हिसाब दिएर मात्र हुंदैन, उहा पनि बसेर हरेक हिसावको बारेमा जानकारी पनि दिनुपर्यो, चित्त बुझ्दो जवाफ चाहियो भनिन्, अध्यक्ष महतो हिसाब किताबको लागि भएको बैठकमा केही समय बसेर भाग्ने गरेका कारण समस्या थप जटिल भएको र आफुहरुको चित्त नबुझेको उपाध्यक्ष गीतादेवीको भनाई छ ।
उनले थपिन आफुहरुले मागेको हिसाब स्पष्ट रुपमा अध्यक्ष महतोले दिए अरु केही समस्या छैन् तर हिसाब पनि नदिने र उल्टै अनावश्यक आरोपहरु लगाउने छुट अध्यक्ष महतोलाई नरहेको बताइन् ।यता आफुसंग बहुमत नपुगेकाले गाउसभा गर्न नसकेको अध्यक्ष महतोले बताउनु भएको छ । उहाले गाउसभा गर्नका लागि आफूले प्रयास गरेको तर सानातिना कुरामा उपाअध्यक्ष गीतादेवी सहितका सदस्यहरु अल्झीएका कारण समस्या सृजना भएको बताउनु भयो ।