सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ कार्तिक ।
पर्सामा ट्राफिक प्रहरीको गतिविधि असुली धन्दामा केन्द्रित भएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
मूख्यसडक, बसपार्क, ड्राइपोर्ट, परवानीपुर लगायतका अति व्यस्त सडकमा अव्यवस्थित पार्किङले महानगरको कुरुपता बढेको नै छ । अव्यस्थित ट्राफिक व्यवस्थापनले गर्दा सवारी चालक, यात्रुहरुले अनावश्यक सास्ती खेपीरहनु परेपनि असुली धन्धामा व्यस्त पर्सा ट्राफिकको रवैया फेरिएको छैन ।
प्राप्त खबर अनुसार पर्साको ड्राइपोर्ट, परवानीपुर, बसपार्क, पावरहाउस, गण्डकको जिम्मेवारी पाएका ट्राफिक प्रहरी पोष्टका इन्चार्जहरुले ओभरलोड मालबाहक सवारी साधन, इट्टा भट्ठाका साहु, धान इत्यादी बोक्ने ट्रेक्टरलगायतका सवारी साधनसँग असुली गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडा एवं प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक समेतको नाममा असुली गर्न थालेपछि यतिखेर पर्साको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको चर्चा छ ।
यतिबेला पर्साको ड्राईपोर्टमा रहेको ट्राफिक प्रहरी पोस्टमा प्रहरी सहायक निरीक्षक बीर बहादुर यादव पुगेका छन् । जिल्लाको अत्यधिक अतिरिक्त कमाइ हुने ठाउँहरु परवानीपुर र ड्राइपोर्टमा पटक पटक जान सफल रहेका असइ वीर बहादुर कामले भन्दा पनि अतिरिक्त आम्दानीबाट हाकीमहरुलाई रिझाउने कलामा निपूण रहेकाले नै बारम्बार अवसर पाउँदै आएको ट्राफिक प्रहरी स्रोतबाट बुझिन आएको छ ।
त्यस्तै परवानीपुर ट्राफिक प्रहरी पोष्टमा यतिबेला प्रसनि बलराम चौधरी छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा मातहत रहेको अति सम्वेदनशील र व्यस्त सडक आइसीपी–वीरगंज–सुख्खा बन्दरगाह –पथलैया औद्योगिक सडक खण्डलाई जोड्ने मुख्य स्थानहरूमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी सहायक निरीक्षकद्वय यादव चौधरीले व्यापक रुपमा असुली धन्दा सञ्चालनमा ल्याएको बताइन्छ ।
क्षमताभन्दा बढी अर्थात् ओभर लोडका गाडीका कारण राजमार्ग तथा अन्य सडकहरू निर्माण नहुँदै भत्किरहेका छन् ।
आइसपी र ड्राइपोर्ट भन्सारबाट ओभरलोड लिएर निस्किने नेपाली र भारतीय लबाहक सवारीसाधनहरुसँग छुट्टाछुट्टै दररेट अनुसार अवैध असुली गरेर मासिक ५० लाख रुपैयाँ भन्दा बढी संकलन गर्ने गरेकाे ट्राफिक स्रोतकै दाबी छ । त्यस्तै परवानीपुरस्थित ट्राफिक प्रहरी पोष्टले भन्सारबाट छुटेका भारतीय मालबाहक सवारी साधनका साथै सो क्षेत्र अन्तर्गतका उद्योगहरुबाट ओभरलोड लिएर निस्किने सवारी साधनबानबाट मासिक ३० लाख भन्दा बढी असुल्ने गरेको पनि ट्राफिक प्रहरी स्रोतकै दाबी छ ।
ओभर लोड गरि समान ढुवानी गर्ने उद्योग धन्दा, व्यवसायी लगायतसँग सेटिंग मिलाउने र निर्वाध रुपमा ओहोर दोहोर गर्न छूट दिएपछि ट्राफिक प्रहरीहरू मोटाए पनि यस क्षेत्रको बाटो अति जीर्ण भई दिनहुँ जसो दुर्घटनाको जोखिम बढेको बताइन्छ ।
सडक क्षमता भन्दा बढी ओभर लोड भएका सवारी साधनलाई नेपाल प्रहरीले रोक्ने र ट्राफिक प्रहरीले जरिवाना गर्ने सहमति भएकोमा पछिल्लो समय यस्ता ओभरलोड भएका सवारी साधनलाई कारवाही नगरी कमिसन लिएर छोड्ने गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाको आगमनयता यस्तो गतिविधि दिन दुई गुणा रात चौगुणाको रफ्तारमा फस्टाउँदै गएपनि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कुनै चासो नदेखाउनु नै मिलेमतो हुन सक्ने गन्ध देखिन्छ ।
कमीशन र सेटिंग मिलाएर ड्राईपोर्ट र परवानीपुर पोस्टमा गएका ट्राफिक प्रहरी सहायक निरीक्षकहरु बीर बहादुर यादव र बलराम चौधरी भने निर्वाध रुपमा प्रहरी आचरण विपरीतका काममा व्यस्त छन् ।
ट्राफिक प्रहरी र नियमक निकायको यस्तै गैर व्यवसायिक व्यवहारका कारण पर्सा जिल्लामा डरलाग्दो रुपमा दुर्घटना, सख्त घाइते एवं मृत्यु हुने घटनाहरू बढ्दै गएको ट्राफिक प्रहरीकै तथ्यांकबाट देखिन्छ ।