राधेश्याम साह–––––––––––––––
गौर, १३ कार्तिक ।
रौतहट जिल्ला फतुवाविजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्ब्या खातुनले वडा अध्यक्षहरुले नगरपालिकालाई अस्तव्यस्त बनाएको आरोप लगाएकी छिन् ।
उपमेयर खातुनले पत्रकार सम्मेलनको आयोजना गरी उपसचिवलाई हाजिर गराउने विषयलाई लिएर वडा अध्यक्षहरुले अनावश्यक विरोध गरी नगरपालिकालाई अस्तव्यस्त बनाएको आरोप लगाएकी हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केहि दिन अघि नगरपालिकाको कार्यालय प्रमुखमा पठाएको उपसचिव सुरेन्द्र प्रधानलाई आफुले हाजिर गराउन खोजेपनि वडा अध्यक्षहरुले अझै हाजिर हुन नदिएको खातुनले बताइन ।
रिपोर्टर्स क्लब नेपाल रौतहटको साक्षात्कार कक्ष गौरमा सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा फतुवाविजयपुरकी कार्यावाहक मेयर रहेकी खातुनले यस्तो बताएकी छन् ।
यस अघि पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शम्भु यादवको मिलोमतोमा वडा अध्यक्ष, कार्यपालिका सदस्य सहित अन्य व्यक्तिहरुले समेत ठुलो आर्थिक अनियमितता गरेकाले अब भ्रष्टाचार हुन नदिन आफुले सरकारले पठाएको उपसचिव प्रधानलाई हाजिर गराई काम गर्ने वातावरण बनाउन खोजेपनि सबै वडाका वडा अध्यक्षहरुले प्रधानलाई हाजिर गराउन नचाहेको र अनावश्यक वादविवाद, बाधा अवरोध सृजना गरी नगरपालिकालाई रणभूमिमा परिणत गरेको आरोप लगाइन । वडा अध्यक्षहरुले भ्रष्टाचार गर्ने उद्देश्यले उपसचिव प्रधानलाई हाजिर गराउन नचाहेको र निमित्त प्रशासकीय अधिकृत शम्भु यादवलाई नै पुनः हाकिम बनाई राख्न खोजेको उनको आरोप छ । वडा अध्यक्षहरुको अनावश्यक हस्तक्षेप र अडानका कारण अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत प्रधान कार्यालयमा हाजिर भई कामकाज गर्न नपाउदा आउदै गरेको हिन्दुहरुको चाड दीपावली र छठ पर्वमा समेत कर्मचारी तथा शिक्षकहरुलाई तलव खुवाउने अवस्था नरहेको उनले बताइन । पत्रकार सम्मेलनमा सहभागी कार्यवाहक मेयर खातुनका श्रीमान शेख सेराजले गत वर्ष मात्र नगरपालिकामा ७ करोड भ्रष्टाचार भएको आरोप लगाएका छन् । भ्रष्टाचार मुद्दामा निलम्बित भएका मेयर गोपाल यादव, नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति एवं प्रदेश सांसद सुनिल यादव भन्ने जितेन्द्र यादव र ज्ञानेन्द्र यादवले नगरपालिकालाई भ्रष्टाचारको अखाडा बनाएको आरोप सेराजले लगाए । यी तिनै जनाको प्रत्यक्ष इशारा र निर्देशनमा निमित्त प्रशासकीय अधिकृत शम्भु यादवले अनुगमन समितिको संयोजक उपमेयर अम्ब्या खातुनसंग हस्ताक्षर नै नगराई लागत इस्टिमेट अनुसार कामै नगरी ७ करोड जति रकम भुक्तानी गरिसकेको उनले आरोप लगाए ।