सहारा दैनिक

spot_img
Homeदेशसदरमुकामकै नाकाबाट गाई तस्करी

सदरमुकामकै नाकाबाट गाई तस्करी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ असोज ।
सिर्सिया–बजार छपकैया नाका अहिले जर्सी गाई र काजु तस्करको नियन्त्रणमा रहेको बुझिन आएको छ ।
सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट सिर्सियाका सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र साउद र सीमा प्रहरी चौकी छपकैयाका प्रमुख प्रनानि तेज प्रताप सिंहको सहकार्यमा तस्करहरूले सो क्षेत्रबाट दैनिक ठूलो संख्यामा जर्सी गाई एवं ठूलो परिमाणमा कपडा, काजु, हार्डडिस्क कम्प्युटर पार्टस्लगायतका सामग्रीहरूको तस्करी गरिरहेको स्रोतले जनाएको छ ।
सदरमुकाम वीरगंजबाटै हाकाहाकी रुपमा प्रहरी प्रशासनको सहयोगमै जर्सी गाईको तस्करी हुनु र काजु र कपडाजस्ता बढी राजश्व असुली हुने सामग्री भन्सार राजश्व छलि गरेर भित्रियाउन तस्करले सहजता पाएपछि मुलुकको अथतन्त्र उकास्ने सरकारी नीतिमा कुठाराघात भएको ठहर्छ ।
सीमा क्षेत्रबाट हुने अवैध गतिविधि, चोरी तस्करी तथा ओसारपसारको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट सिर्सियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक साउदले नै तस्करीको लाईन दिएपछि भारत पन्टोका निवासी विकास गुप्ताले दिनहुँ मध्यराती २५ देखि ३० वटा सम्म जर्सी गाई तस्करी गरी ल्याउने गरेका छन् ।
त्यसैगरी काजु र रेडबुलको तस्करी गर्ने लाईन पशुपतिले पाएका छन् । पशुपतिले दैनिक भारी परिमाणमा सिर्सिया, छपकैया र ड्राइपोर्ट नाका भएर काजु, किसमिस एवं नेपालमा प्रतिबन्धित रेडबुल नेपाल भित्र्याएर नेपाल सरकारको राजश्व मात्र चुहावट गरेका छैनन् । उपभोक्ताहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हानिकारक रेडबुल समेत भित्रियाउने गरेका छन् ।
त्यस्तै रम्भु, मंजु, जितु लगायतका तस्करहरूलाई कपडा, हार्डवेयर, कम्प्युटर पार्टस्लगायतका सामग्री तस्करीको लाईन दिएर सो क्षेत्रका जिम्मेवार सुरक्षा निकायले नेपालको राजश्व चुहावटमा भरपुर सहयोग गरिरहेका छन् ।
यस सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा बोर्डर आउट पोष्ट सिर्सियाका प्रमुख, सशस्त्र प्रहरी निरीक्षक साउदले खुल्ला सीमा र जनशक्ति अभावका कारण आफूले तस्करी नियन्त्रण गर्न नसकेको बताउनु भयो ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा. पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले पर्सामा आफू नयाँ भएकोले सबै नाका र स्थानबारे पर्याप्त जानकारी नभएपनि मातहतका सम्पूर्ण प्रस्तावित गुल्म र बिओपी क्षेत्रबाट हुने अवैध तस्करी तथा चोरी निकासी/पैठारी नियन्त्रण गर्न कडा निर्देशन दिएको बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -