चितवन, १६ भदौ (रासस)
नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले सञ्चार संस्था जोगाउने दायित्व स्थानीय सरकारको रहेको बताउनुभएको छ ।
साप्ताहिक सञ्जाल नेपाल चितवनको प्रथम अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सञ्चार संस्थाको संरक्षण र प्रवर्द्धन गर्ने दायित्व स्थानीय सरकारको भएको बताउनुभयो । अध्यक्ष पोख्रेलले भन्नुभयो, “सञ्चारमाध्यमले जनता र स्थानीय सरकार दुवैलाई झकझकाउने काम गर्ने भएकाले यसको संरक्षण स्थानीय सरकारले बढी गर्नुपर्छ ।”
पहुँचका आधारमा विज्ञापन दिने नीति स्थानीय सरकारबाट हट्नुपर्ने उहाँको भनाइ थियो ।
साप्ताहिक पत्रिका पाठक र सरोकारवालाको आकर्षण गर्ने भन्दै उहाँले यसले अझै जनताको ध्यान केन्द्रित गर्न जरुरी रहेको बताउनुभयो । साप्ताहिक पत्रिकाले समाज परिवर्तनमा खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उहाँले यसलाई संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।
साप्ताहिक सञ्जाल चितवनका अध्यक्ष टीकादत्त तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि अधीकारी, नेपाल प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य शान्ता अधिकारी, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङ, सञ्जालका पहिलो अध्यक्ष नवराज ढकाललगायतले सञ्चार क्षेत्रलाई व्यवस्थित तुल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
अधिवेशनले सूर्य बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सहसचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा हरि कार्की ‘लक्की’ र प्रवक्तामा नवीनबाबु मरहठ्ठा सर्वसहमत चयन हुनुभएको छ । सदस्यमा रामेश्वर रिजाल, हरिप्रसाद उप्रेती ‘भुवन’ हुनुहुन्छ भने बाँकी दुई सदस्य कार्यसमितिको पहिलो बैठकबाट चयन गर्नेछ ।