सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ साउन ।
जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले पार्टी एक ढिक्का हुने गरि काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
वीरगंज महानगर कार्य समितिको शनिवार बसेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाले पार्टी एक ढिक्का नभए अरुले खेल्ने बाटो पाउने भन्दै पार्टीलाई मजबुद बनाउने गरि काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
पर्सा क्षेत्र नम्वर १ का सांसद समेत रहेका यादवले पर्सा जिल्लाको पार्टी नेतृत्व असक्षम हुंदा कार्यकर्ता हतोत्साहित भएको भन्दै चांडै पुनर्गठन गर्ने पनि बताउनुभयो ।
जिल्ला नेतृत्व असक्षम छ, एनजिओ चलाए जसरी दुई जनाले पार्टी चलाउन खोजेका छन् त्यसरी पार्टी चल्दैन, भन्दै पार्टी कुनै क्लब र एनजिओ होइन, कागज मिलाएर काम हुने, कार्यकर्ताको खुन पसिनाबाट बनेको पार्टी, एनजिओमा कागज मिलाए जसरी चल्दैन भन्नु भयो ।
बैठकमा जसपाका केन्द्रीय सदस्य समेत रहनुभएका वीरगंज महानगरका मेयर राजेशमान सिंहले पर्सा पार्टी नेतृत्व विभेदकारी ढंगले चलेको आरोप लगाउनुभयो ।
उहाले पार्टीलाई चलायमान बनाउन सबै एक भएर लाग्नुको कुनै विकल्प नभएको भन्दै पार्टीका साथीहरुसँग भेटघाट कार्यक्रम हरेक महिना राख्न सुझाव पनि दिनुभयो ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य रेखा साह, नेता प्रेमबाबु पटेल, वीरगंज महानगरका विभिन्न वडामा पार्टीबाट निर्वाचित वडाअध्यक्षहरु मनोज यादव, रमेश यादव, प्रशुराम चौरसिया, सुशील साह, आशुतोष चतुर्वेदी, उमाशंकर तिवारी, महबुब एलाही अंसारी, कार्यपालिका सदस्य खैरुद्धिन मिया“ लगायतको उपस्थिति रहेको थियो ।
पार्टीको नगर कार्यसमितिका अध्यक्ष इश्वरचन्द्र यादवको सभापतित्वमा सम्पन्न बैठकको सहजिकरण उमेशलाल सहनीले गर्नुभएको थियो ।
यसै विच शनिबार वीरगंज महानगरपालिका वडा नं. १४ को वडा इकाई कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली स्थानीय नेता समसेद अख्तर नेतृत्वमा केही व्यक्ति पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका छन ।
कार्यक्रममा नवप्रवेशीहरुलाई सांसद यादब र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले टीका तथा फुलमाला लगाएर पार्टी प्रवेश गराउनु भयो ।
Facebook Comments Box