जनकपुरधाम, १४ साउन (रासस)
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा आकाशे पानीको भरपर्नुपर्ने ठाउँलाई सुक्खा क्षेत्र घोषणा र प्रभावित किसानलाई राहत दिनेबारे सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।
आज नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले मधेसमा देखिएको खडेरीका कारण किसानले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर रहेको र आवश्यक छलफलपछि चाँडै राहतका कार्यक्रमबारे निर्णयमा पुग्ने बताउनुभयो ।
“पार्टी र नागरिक तहबाट पनि सुक्खा क्षेत्र घोषणा र प्रभावित किसानलाई राहत दिने विषयमा सुझाव आइरहेका छन्, यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ । प्रदेशका आठै जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको विपत व्यवस्थापन समितिसँग छलफल गर्छौँ र राजनीतिक पार्टी एवं सरोकारवालाको सुझाव पनि लिन्छाँै । त्यसको निष्कर्षअनुसार सरकारले आवश्यक काम गर्छ”, मुख्यमन्त्री यादवले भन्नुभयो ।
त्यसैगरी उहाँले पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको निदान तथा नियन्त्रणका लागि प्राविधिक परिचालन र किसानलाई क्षतिपूर्ति सम्बन्धमा कृषिमन्त्रीसँग छलफल भई तत्कालका लागि रु ७५ लाख विनियोजन गरिएको र सोमबारदेखि नै काम सुरु गर्न निर्देशन दिइएको पनि जानकारी दिनुभयो । कृषि, सिँचाइ र मल खाद्य लगायतका समस्या समाधान गर्नेबारे सरोकारवाला र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि गम्भीर छलफल भएको भन्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारले ठोस योजना र सहकार्यसहित समस्याको दीर्घकालीन समाधानको खोजी गरिरहेको बताउनुभयो ।
एमाले मधेस प्रदेश संसदीय दलको तर्फबाट प्रमुख सचेतक लखन दास तत्माले मुख्यमन्त्री यादवलाई पाँचबुँदे ज्ञापन पत्र बुझाउनुभएको थियो । एमालेले मधेस प्रदेशलाई तत्काल सुक्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्ति, महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको निदान तथा नियन्त्रणका लागि प्राविधिक परिचालन गरी भ्याक्सिन र किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेको छ । त्यसैगरी किसानका लागि उन्नत बीउविजन, सिँचाइ, मल खाद्यको सरल र सहज उपलब्धता सुनिश्चित गर्नुपर्ने, कृषि विद्युतीकरणसँग आबद्ध किसानका लागि २४ घण्टा विद्युत् आपूर्तिको व्यवस्था र यस वर्षको बिजुली महसुल सरकारले तिरिदिनुपर्ने र आठै जिल्लामा एउटा एउटा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्ने एमालेको मांग छ ।
किसानलाई राहत दिन सरकारले तयारी गरिरहेको छ–मुख्यमन्त्री यादव
Facebook Comments Box