सहारा संवाददाता–––––––––––––––
गौर, २ असार ।
मधेस प्रदेशमा एमएसएस स्कोरिङमा ९१ प्रतिशत अङ्कसहित प्रादेशिक अस्पताल गौर पुनः दोस्रोपटक उत्कृष्ट स्थान ल्याउन सफल भएको छ ।
मधेश प्रदेशको गौरस्थित प्रादेशिक अस्पताल प्रदेशमै दोस्रोपटक सर्वाेत्कृष्ट अस्पतालको रूपमा स्थापित भएको छ ।MSS (Minimum Service Standards) स्कोरिङमा ९१ प्रतिशत अङ्क प्राप्त गर्दै अस्पतालले प्रदेशभरका सबै स्वास्थ्य संस्थाहरूमध्ये पुनः पहिलो स्थान ओगट्न सफल भएको हो ।
तीन महिनाअघि गरिएको अघिल्लो स्कोरिङमा पनि यस अस्पतालले ८९ प्रतिशत अङ्क हासिल गर्दै शीर्ष स्थान प्राप्त गरेको थियो । असार २ गते आयोजित एमएसएस मूल्यांकन कार्यक्रममा अस्पतालले अघिल्लो उपलब्धिलाई उचाइ दिँदै ९१ प्रतिशत स्कोरसहित अग्रता दोहोर्याएको हो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मो. अनवर हाशमीले गौर प्रादेशिक अस्पतालको विगतको छवि ‘रेफर अस्पताल’को रूपमा रहेको स्मरण गर्दै पछिल्ला तीन वर्षमा गुणात्मक सुधार गर्दै उत्कृष्टताको नयाँ उचाइमा पुगेको उल्लेख गरे।
उनले यो सफलता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरको दूरदृष्टि, व्यवस्थापकीय क्षमता तथा समर्पित टिमको सामूहिक प्रयासको फल भएको बताए । अध्यक्ष हाशमीले तीन वर्षअघि मधेश प्रदेशमै आठौं स्थानमा रहेको यो अस्पताल निरन्तर सुधारको यात्रामा अघि बढ्दै आज दुर्ईपटकसम्म उत्कृष्ट बन्न पुगेको छ, जुन गौरवको विषय भएको बताए ।
स्वास्थ्य सेवा प्रवाहमा सुधार, चिकित्सकीय सेवा विस्तार, पूर्वाधार सुदृढीकरण, सरसफाइ र बिरामी मैत्री वातावरण निर्माण जस्ता सूचकांकमा हासिल प्रगतिको मूल्यांकन आधारमा एमएसएस स्कोरिङ गरिन्छ।
अस्पतालको यस उपलब्धिले न केवल रौतहट जिल्लावासीका लागि स्वास्थ्य सेवामा नवआस्था जगाएको छ तर मधेश प्रदेशका अन्य स्वास्थ्य संस्थाहरूका लागि पनि प्रेरणादायक उदाहरण बनेको छ। स्वास्थ्य सेवा क्षेत्रमा यो सफलता मधेश प्रदेश सरकारका लागि पनि एउटा महŒवपूर्ण उपलब्धि मानिएको छ ।