सहारा संवाददाता––––––––––––––– गौर, १३ वैशाख । जनता प्रगतिशील नेपाल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मुलुकमा स्वार्थपूर्ण, सिद्धान्तहीन राजनीतिको कारण देशको अवस्था संकटमा परेको आरोप लगाएका छन् । रौतहटको गौरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको राजनीति सही मार्गतर्फ उन्मुख नभएको बताए । अहिले सरकार, न्यायापालिका र कार्यपालिका चलायमन अवस्थामा नरहेको उनले भनाइ थियो। स्वार्थपुर्ण, सिद्धान्तहीन चरित्रका कारण नेपालको राजनीति बिग्रेको प्रसङ्ग उल्लेख गर्दै उनले आर्थिक अनुशासन पालना नगरेकै कारण मुलुकमा भ्रष्टाचार बढदै देशको अवस्था संकटमा परेको स्पष्ट पारे । नेपालमा २०८४ को निर्वाचन मिसन खतरामा रहेकोे, त्यस खतराले केही नयाँ परिवर्तन ल्याउनेछ तर त्यसको समाधान विवेकले गरे कम जोखिम हुने नभए त्यसको ठूलो खतरा देशले भोग्नु पर्ने बताएका छन । उनले किसानको समस्या सम्बन्धमा उत्पादनकर्ताले उत्पादन वस्तुको मूल्य निर्धारण नगरी बिचौलियाले गरिरहेकोले किसानले उचित मूल्य नपाएको बताए । ६० प्रतिशत किसानको प्रतिनिधित्व कसैले पनि नगरेकोमा चिन्ता व्यक्त गर्दै उनले कृषिमा भएको लगानीले सम्पूर्ण किसानलाई समेट्न नसकेको बताए । अध्यक्ष त्रिपाठीले भने, ‘धेरै बैंक भएर पनि कृषिमाथि लगानी नगर्नु दुर्भाग्य हो।’ किसानको समस्या समाधान गर्न नीतिगत स्पष्टता हुनुपर्ने भन्दै उनले भ्रष्टाचारमुक्त सुशासनसहितको स्थानीय तहको निर्माण नै अहिलेको मूल उद्देश्य हुनुपर्ने कुरामा जोड दिए । आफ्नो पार्टीको एजेण्डा जनता माझ पुग्न सक्यो भने आफ्नो सफलता हुने उनले बताएका छन् ।
Facebook Comments Box