सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ फागुन ।
जिल्ला अदालत र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको आदेशपछि निलम देवी अग्रवालले न्याय पाएकी छिन् ।
आफ्नै जेठाजु अजय अग्रवालका छोरा राहुल अग्रवालले लिएको रु तीन करोड वापत दिएको चेक बाउन्स भएपछि अदालतमा चेक अनादरको मुद्दा जितेपछि न्याय पाएको अग्रवालले बताएकी छिन् ।
वीरगंज महानगरपालिका हाल वडा नं. १० निवासी स्व. अजय अग्रवालका छोरा राहुलले आफ्नै काकी निलम देवी अग्रवालबाट लिएको रकम नदिने मनशायसहित उनलाई धाक–धम्की समेत दिंदै आएको अवस्थामा जिल्ला अदालत पर्सामा दिएको चेक अनादर मुद्दामा राहुलले उक्त रकम तिर्नुपर्ने जिल्ला अदालतको फैसला अनुरुप नै उच्च अदालतले गत पुस १६ गते फैसला गरेपछि न्याय पाएको निलम देवीका छोरा सिद्धार्थ अग्रवालले बताएका छन् ।
अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राहुलले मेरी आमालाई वाट्सएप नम्बरमा फोन गरेर विभिन्न किसिमको धाक–धम्की दिई मुद्दा फिर्ता लिन दबाब दिएको स्मरण गर्दै सिद्धार्थले भने– “न्यायलयले हामीलाई न्याय दिएकोमा खुशी छु ।”
चेक अनादर मुद्दामा राहुल अग्रवालले बाटोका म्यादबाहेक सात दिनभित्र बिगो वापतको रकम रु तीन करोड निलम देवीलाई बुझाउन म्याद समेत जारी गरेको बताइएको छ ।