सहारा संवाददाता––––––––––––– वीरगंज, २५ माघ । जनमत पार्टी, पर्साले शुक्रवार वीरगंजको घण्टाघरचोकमा प्ले कार्डसहित प्रदर्शन गरेका छन् । नारायणी अस्पतालमा पाँच सय शैयाको भवन निर्माणको माग गर्दै जनमत पार्टीले प्रदर्शन गर्ने क्रममा केहीबेर सडक अवरूद्घ भएको थियो । प्रहरीले बल प्रयोग गरेर सडक अवरुद्ध हटाउने क्रममा धरपकड र घम्साघम्सी भएको थियो । जनमत पार्टीले गरेको दबाब प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले चार जिल्लाका ३० लाख नागरिकले स्वास्थ्य उपचारको सेवा लिदैं आएको नारायणी अस्पतालमा सरकारले निर्माण गर्न बजेट निकासा गरिसकेको भवनबारे परेको मुद्दा सर्वाेच्च अदालतले ५ वर्षदेखि अल्झाएर राखेको बताए । उनले माघ २८ को पेसीमा पनि सर्वाेच्चले मुद्दाको छिनोफानो लगाएन भने वीरगंजमा बन्द हडतालका कार्यक्रम गर्ने चेतावनी दिए । जनमत पार्टीले वीरगंजबासीका लागि आन्दोलन थालेको भन्दै उनले यो आन्दोलनमा सहभागी हुन सम्पूर्ण नगरबासीलाई आहवान गरे । प्रदर्शनका क्रममा जनमत पार्टीका केन्द्रीय परिषद सदस्य डा. अजय यादव, केन्द्रीय सदस्य नजमा खातुन, नेताहरू राजनारायण मिश्र, संजय सिंह लगायतले सम्बोधन गरेका थिए । सरकारले आर्थिक वर्ष २०७५–७६ मा मन्त्रीपरिषदको बैठकबाट नारायणी अस्पताललाई केन्द्रिय अस्पताल घोषणा गर्दै ५५० शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेट निकासा गरेको थियो । तर उक्त भवन निर्माणको प्रकृया शुरू नहुदैं शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीबीचको विवादसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । सर्वाेच्च अदालतमा उक्त मुद्दाको अर्काे पेसी यहि माघ २८ गतेका लागि तोकिएको छ ।
Facebook Comments Box