सहारा संवाददाता––––––––––––––– वीरगंज, २८ पुस । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले घृणाको बीउ रोप्नेले त्यसको प्रतिफल पनि घृणा नै पाउने बताएका छन् । आइतवार नेकपा (एकिकृत समाजवादी) पर्साको नवौं जिल्ला अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट पार्टी समय समयमा टुक्रिनु दुभाग्र्यपूर्ण भएको बताए । उनले नेपाल राष्ट्रको एकिकरण गर्ने पृथ्वीनारायण शाहप्रति उच्च सम्मान रहेको बताउँदै राज्यले पनि उनलाई सम्मान गर्नुपर्नेमा जोड दिए । नेता नेपालले माधव नेपालको अनुहार पनि हेर्न मन लाग्दैन भन्ने व्यक्ति नै सत्ता र कुर्सी चाहिएका बेला भने दौडेर मकहाँ आएको भन्दै प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरे । आफूले कोहिप्रति घृणाकोे भाव नराखेको उनले बताए । दुर्ई ठूला शक्ति राष्ट्र चीन र भारत बीचमा रहेको नेपाल क्षेत्रफल सानो भएपनि नेपालको आफ्नो छुट्टै इज्जत, प्रतिष्ठा र स्वाभिमान रहेको धारणा बताए । हरेक राजनीतिक दलले नेपाल र नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिदैं उनले अमेरिका, रूस, चीन,भारत लगायतका देशका सरकार प्रमुखसंग नेपालको हित र प्रतिष्ठा बढाउनका लागि आफूले संवाद र छलफल गरेको दावी गरे । नेकपा एस, पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनेश प्रसाद यादव, राप्रपाका नेता सुमेश्वरनाथ उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Facebook Comments Box