वीरगंज, २७ मंसिर । खादमलको कालोबजारी रोक्न जनमत पार्टी पर्साले जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । पर्सा जिल्लामा मलखादको कालो बजारी एवम् तस्करी नियन्त्रण गरि आम किसानलाई सहज रूपमा बितरणको पहल गर्न बिहीवार जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा रहेको टोलीले प्रजिअलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा पार्टीगत आधारमा मलखाद वितरण भइरहेको तथा जनमत पार्टीसँग आबद्ध भएका किसानलाई मलखादबाट वञ्चित गरेको, पहुँच नभएको निमुखा किसानहरू लाई मलखाद नपाएको, पर्सा जिल्लामा मलखादको कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा प्रजिअलाई ज्ञापत्रपत्र बुझाउँदै किसानहरू लाई विभेद नगरी सहज तरिकाले सुपथ मुल्यमा उपलब्ध गराउन माग गरिएको छ । किसानहरूले गहुँ तथा अन्य बालीमा मलखाद छर्ने समय भएकोले तुरून्तै मलखादहरू उपलब्ध हुनुपर्ने नत्र किसानहरुलाई गुजारा चलाउन समेत धौधौ हुने अध्यक्ष सर्राफले बताए । टोलीमा सिपु तिवारी, बिध्यालाल प्रसाद, अनिता रौनियार, श्याम गुप्ता, नजमा खातुनलगायतको सहभागिता थियो ।
Facebook Comments Box