spot_img
Homeदेशलोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ

लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ

जनकपुर, १९ कात्तिक (रासस)
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताउनुभएको छ ।
धनुषा चेम्बर अफ कमर्सद्वारा जनकपुरधाममा आज आयोजित छठ लक्षित विपन्न व्रतालुहरूलाई पूजा सामग्री वितरण कार्यक्रममा उहाँले सबै खाले भेदभावविरुद्ध सद्भाव र प्रकृतिका विभिन्न जीवनदायिनी तत्वप्रति आस्थाको अभिव्यक्ति छठ पर्व भएको धारणा राख्नुभयो ।
मुख्यमन्त्री सिंहले एकता, सद्भाव र सहिष्णुताबाट छठ पर्वमा विपन्न व्रतालुहरूलाई नयाँ पहिरन तथा पूजा सामग्री वितरण गर्ने परम्परालाई निरन्तरता दिएकामा आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जनकपुरधामको छठ पर्व मौलिक र विशिष्ट रहेको बताउनुभयो । उहाँले यसलाई थप आकर्षक बनाउन जनकपुरधामको सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “चाडपर्वमा सरसफाइमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ । हामीले प्रदेश सरकारसँग समन्वय गरेर जनकपुरधामको सरसफाइसम्बन्धी योजना कार्यान्वयन गर्ने तयारी गरेका छौँ, त्यसपछि भने यहाँको अवस्था थप सुधार हुनेछ”, नगरप्रमुख साहले भन्नुभयो ।
कार्यक्रममा जनकपुरधामका पूर्वप्रमुख बजरंगप्रसाद साह, जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीलगायतले आआफ्ना धारणा राखेको थियो । कार्यक्रममा सय जना महिलालाई नयाँ पहिरन र अन्य पूजा सामग्री वितरण गरिएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -