सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० भदौ ।
खानेपानी मन्त्री प्रदीप यादवले नेपाललाई समृद्ध र स्वावलम्बी बनाउन शिक्षित र सक्षम युवा पुस्ता नै प्रमुख आधार भएको बताउनुभएको छ ।
वीरगंज महानगरपालिका वडा नं. ३० को कार्यालयद्वारा आयोजित “एसइई पास गरेका छात्राहरूलाई कम्प्युटर वितरण तथा लोकसेवा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा ल्यापटफ वितरण” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले युवाहरूको सशत्तीकरण र प्राविधिक शिक्षाको महत्वमाथि जोड दिंदै यस्तो बताउनु भएको हो ।
मन्त्री यादवले भविष्यको कर्णधारलाई प्रविधिको पहुंच दिलाउन यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
कम्प्युटर वितरणले विद्यार्थीहरूलाई प्रविधिसंग जोड्दै उहाहरूको क्षमता र दक्षता बढाउन सहयोग पुर्याउने छ भन्दै उहाले नेपाललाई समृद्ध र स्वावलम्बी बनाउन शिक्षित र सक्षम युवा पुस्ता नै प्रमुख आधार हो भन्नु भयो ।
उहाले समाजको विकासका लागि शिक्षामा लगानी गर्नु सबैभन्दा महत्वपूर्ण हो भन्दै वर्तमान सरकारले शिक्षा र प्रविधिमा पहुंचका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षाको महत्वलाई जोड दिंदै प्रविधिमा पहुंचले विद्यार्थीहरूको भविष्यलाई अझ उज्यालो बनाउन मद्दत गर्ने बताउनु भयो ।
उहाले वीरगंज महानगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने छ भन्नु भयो ।
वडा नं. ३० का वडाध्यक्ष मनोज कुमार यादवले वडाले शिक्षामा नयाँ प्रविधिहरूको प्रयोगलाई प्रोत्साहित गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा गत वर्ष सम्पन्न एसइई परीक्षामा सहभागी भई उत्तीर्ण गर्ने वडा नं. ३० का २६ जना छात्राहरूलाई कम्प्युटर वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो । त्यस्तै शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण भई पदस्थापन भएका वडाका दुई जनालाई ल्यापटप र वडाको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ९ जना स्वयम् सेविकाहरूलाई स्मार्ट फोन वितरण गरिएको उहाले बताउनु भयो ।
कार्यक्रममा निवर्तमान जिल्ला समन्वय समितिका सभापति नेक मोहम्मद मियाँ, मधेस प्रदेशका पूर्व प्रदेश सभा सदस्य जनत अन्सारी, जनता समाजवादी पार्टी (जसपा) का पदाधिकारी/नेता, स्थानीय बुद्धिजीवी, विद्यार्थी, अभिभावक लगायत शिक्षाप्रेमीहरू सहभागिता रहेको थियो ।
शिक्षित र सक्षम युवा नै समृद्ध नेपालको आधार हो–मन्त्री यादव
Facebook Comments Box