सहारा दैनिक

spot_img
Homeदेशमापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन गर्ने विरुद्ध मुद्दा दायर

मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन गर्ने विरुद्ध मुद्दा दायर

जनकपुरधाम, १९ भदौ (रासस)
खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन र विक्री वितरण गर्ने विरुद्ध मुद्दा दायर गरिएको छ ।
उक्त कार्यमा संलगन उद्योग सञ्चालकमाथि मुद्दा दायर गरिएको छ ।
कार्यालयले उद्योगको नमूना जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गरेको जाँचको क्रममा फेला परेपछि गत आर्थिक वर्ष २०८०/८१ मा ती मुद्दा दायर गरेको हो । मधेश प्रदेशको आठ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालय अन्तर्गतका कार्यालयले विभिन्न उद्योगबाट उत्पादित सामग्रीको जाँचगर्दा गुणस्तरहीन खाद्यपदार्थ भेटिएपछि मुद्दा दायर गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले बताउनुभयो ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वर, मलगङ्वा, वीरगञ्ज, जनकपुर तथा राजविराजस्थित डिभिजन कार्यालयले आ(आफना सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
अधिकृत तिवारीका अनुसार गत आर्थिक वर्षमा मधेश प्रदेशको आठ जिल्लाबाट तीन हजार पाँच सय ८७ खाद्यपदार्थको नमूना जाँच गर्दा ७४ वटा न्यून गुणस्तरीय पाइएका थिए । तीमध्ये ३१ वटाको मुद्दा दायर, १६ वटाको बयान सकिएको तथा अन्यको बयान लिन बाँकी रहेको छ । सो कार्यालयले उक्त अवधिमा खाध अनुज्ञापत्र वितरण, नवीकरण र कारबाहीबापत रु २६ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालय अन्तर्गत मधेश प्रदेशमा चारवटा डिभिजन कार्यालय रहेका छन् । त्यहाँबाट बजारको अनुगमन तथा नमूना सङ्कलन कार्य भई खाद्यपदार्थको जाँच गर्ने र गराउने कार्य हुने गरेको प्रमुख तिवारीले बताउनुभयो ।
दूध तथा दुग्ध पदार्थ, तेल र तेलहन पदार्थ, फल तथा सागपात, मसला, चिया, कफी, नून, दाल, दलहन, प्रोशोधित पिउने पानी, गुलियोपदार्थ, मासु, दाना लगायतका खाद्यपदार्थको नमूना जाँच गरिएको कार्यालयले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -