काठमाडौँ, १८ भदौ (रासस)
खानेपानी मन्त्री प्रदीप यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० अनुसार नेपाल सरकारले विक्रम संवत् २१०० सम्म सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य लिएको जानकारी गराउनु भएको छ ।
मंगलवार आयोजित राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा) ले गर्नुभएको प्रश्नको उत्तर दिनुहुँदै मन्त्री यादवले नेपाल सरकारले विक्रम संवत् २१०० सम्म सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्यलाई हासिल गर्नका २४ वटा रणनीति तथा कार्यनीतिहरू तयार पारेको जानकारी गराउनु भएको हो ।
सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले भन्नुभयो, “खानेपानी तथा सरसफाइ सेवा नागरिकको पहुँचसम्म पुर्याउने सरकारको प्राथमिकता नेपाल संविधानमा तीन तहको सरकारको साझा अधिकारको सूचिमा समावेश गरिएको छ । हालसम्मको प्रगति अनुसार, आर्थिक वर्ष २०७९/८० सम्म ९४.९३ प्रतिसत जनसंख्यामा आधारभूत स्तरको खानेपानी सेवा पुर्याइएको छ भने सत प्रतिशत जनसंख्यामा आधारभूत स्तरको सरसफाइ सुविधा उपलब्ध गराइएको छ । यसका साथै, २५.८१ प्रतिसत जनतामा उच्च तथा मध्यम स्तरको खानेपानीमा पहुँच पुर्याइएको छ ।”
त्यसै गरी मन्त्री यादवले मन्त्रालयको अल्पकालीन र मध्यकालीन योजनाहरूमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराउने योजना प्रमुख रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरी मनसुन सक्रिय हुन छाडेपछि वैकल्पिक पथान्तरण सुरुङको मर्मत कार्य सम्पन्न गरी असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराइनेछ । साथै, मेलम्चीको पानी नियमित आपूर्ति नहुँदा बागमती तथा धाप ड्यामको पानी सुन्दरीजल प्रशोधन केन्द्रमार्फत प्रशोधन गरी आपूर्ति भइरहेको छ ।”
तराई मधेस क्षेत्रमा डिपबोरिंगका आयोजना सञ्चालन गरी स्वच्छ खानेपानी सेवा उपलब्ध भइरहेको बताउनुहुँदै मन्त्री यादवले यसलाई थप विस्तार गरिँदै लगिने जानकारी गराउनुभयो । “अधुरा तथा निर्माणाधीन आयोजना समयमा नै सम्पन्न गरी सेवा उपलब्ध गराइने योजना रहेको छ,” उहाँले भन्नुभयो ।
त्यसै गरी मन्त्रालयको दीर्घकालीन योजनाहरूको बारेमा जानकारी गराउनुहुँदै मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स सुरक्षित स्थानमा स्थानान्तरण गरी काठमाडौँ उपत्यकामा बाह्रै महिना पानी वितरण गर्ने योजना रहेको बताउनुभयो ।
मेलम्चीका अतिरिक्त सिन्धुपाल्चोकका यांग्री र लार्के खोलाबाट पनि ५१ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गरिने योजनाको बारेमा पनि मन्त्री यादवले सभालाई जानकारी गराउनु भएको थियो । “त्यसतै, भक्तपुरको महादेव खोला, ठोस्ने खोला, सिस्नेरी खोलाको पानी वितरणको लागि सम्भाव्यता अध्ययन पूरा भएको छ र यसपछि काठमाडौँ उपत्यकामा थप पानीको सुविधा उपलब्ध गराइनेछ,” उहाँले भन्नुभयो ।
सरकारले पहाडी सुख्खाग्रस्त क्षेत्रहरूमा लिफ्टीङ आयोजना तथा तराई मधेसका जिल्लाहरूमा नदीहरूबाट थोक पानी वितरणको लागि सम्भाव्यता अध्ययन गरेर कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि उहाँले बताउनुभयो । खानेपानीका स्रोतहरूको संरक्षण, संवर्द्धन, र विकासमा जलवायु अनुकूलित आयोजना सञ्चालन र विकासमा सम्बन्धित सरोकारवालाहरूको सहभागिता अभिवृद्धि गर्दै जिम्मेवार बनाउने योजना पनि मन्त्रालयको प्राथमिकता रहेको उहाँको भनाई थियो ।
सरकारले संघ, प्रदेश, र स्थानीय तहबिचको समन्वय र सहकार्यमार्फत दीर्घकालीन खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयार गरी कार्यान्वयन गर्ने योजना बनाएको बताउनुहुँदै मन्त्री यादवले काठमाडौँ उपत्यकामा वर्षातको पानी सङ्कलन र पुनर्भरणको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराउनुभयो ।
मन्त्री यादवले अर्थ मन्त्रालयका कर्मचारीहरूको ढिलासुस्तीका कारण काम गर्न कठिनाइ भइरहेको जिकिर पनि गर्नुभयो । उहाँले भन्नुभयो, “अर्थ मन्त्रालयका कर्मचारीहरूले सहयोग नगर्दा धेरै कामहरू अड्किएका छन् । अध्ययन गर्दै छु भनेर उहाँहरूले लामो समयसम्म फाइल अगाडि बढाउनु हुँदैन । सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन विपरीत उहाँहरूले काममा ढिलासुस्ती गर्दा अन्य मन्त्रालयहरूले काम नगरेको जस्तो देखिन्छ ।” उहाँले यस विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग समेत कुराकानी गरेको जानकारी गराउनुभयो ।
त्यस्तै मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयले सहयोग नगर्दा पनि अपेक्षित काम गर्न नसकिएको गुनासो गर्नुभयो । उहाँले इटालियन कम्पनी सिएमसीले मेलम्चीको काम अधुरै छोडेर भागेको र उल्टै नेपाल सरकारविरुद्ध सिङगापुरको अदालतमा मुद्दा दिएको जानकारी गराउनुहुँदै भन्नुभयो, “सिएमसीले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा अन्तर्राष्ट्रिय कानुनी परामर्शदाता हार्वड केनेडी लफर्म लण्डनका प्रतिनिधिहरूसँग भेटघाट गरी सिएमसीले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा बलियो प्रमाण जुटाउन निर्देशन दिएको छु,” उहाँले भन्नुभयो ।
सम्पूर्ण नेपालीलाई खानेपानी सेवा सुनिश्चित गराउने योजना छ–खानेपानी मन्त्री यादव
Facebook Comments Box