काठमाडौँ, १५ भदौ ।
खानेपानी मन्त्री प्रदीप यादवले निकट भविष्यमा नेपालमा महिला प्रधानमन्क्री चयन हुने आशा व्यत्त गर्नुभएको छ ।
नवनारी म्यागेजिनद्वारा आज काठमाडौँमा आयोजित तीज तथा सौन्दर्य सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले महिला राष्ट्रपति, सभामुख, न्यायाधीश, र मुख्य सचिव पाइसकेकाले अब महिला प्रधानमन्त्री बन्ने मात्र बाँकी रहेको बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, “महिलाहरूले उच्चतम पदहरू हासिल गरिसकेका छन्, अब प्रधानमन्त्री पदमा महिला नेतृत्वको अपेक्षा गरिएको छ । निकट भविष्यमै देशले महिला प्रधानमन्त्री पाउनेमा म विश्वस्त छु ।“
कार्यक्रममा मन्तव्य राख्दै मन्त्री यादवले नेपालको संविधानले महिलाका लागि विशेष अधिकार सुनिश्चित गरेको बताउँदै, वर्तमान सरकार पनि महिलाका हकहितमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
महिलाका लागि ३३ प्रतिशत आरक्षण सरकारी निकायहरूमा अनिवार्य हुनुपर्ने धारणा व्यक्त गर्दै, उहाँले अब पुरुषहरूले पनि घरको काममा योगदान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
तीज पर्वको सन्दर्भमा मन्त्री यादवले यस पर्वले महिला दिदीबहिनीहरूलाई दुःखसुख साटासाट गर्ने अवसर दिने र मिलनको पर्वको रूपमा महत्त्व राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडमा मनाइने तीज अहिले मधेसका गल्ली–गल्लीमा पनि उल्लासपूर्वक मनाइन्छ, यो पर्व हाम्रो सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनको प्रतीक हो ।“
अर्को प्रसंगमा, मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौँवासीलाई २४ घण्टा खानेपानी उपलब्ध गराउन, ललितपुरमा मेलम्चीको पानी पुर्याउन र गोदावरीको पानी खुवाउन आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।
मन्त्री यादवले आफूसँग सम्बन्धित कुनै समस्या वा सुझाव भए आफूलाई सिधा सम्पर्क गर्न आग्रह गर्दै कार्यक्रम समापन गर्नुभयो ।
निकट भविष्यमा नेपालले महिला प्रधानमन्त्री पाउँछ–खानेपानी मन्त्री यादव
Facebook Comments Box