सहारा दैनिक

spot_img
Homeदेशशिक्षकहरुको दरबन्दी मिलानको बिरोधमा छैनौं–प्रधानाध्यापक

शिक्षकहरुको दरबन्दी मिलानको बिरोधमा छैनौं–प्रधानाध्यापक

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ भदौ ।
वीरगंज महानगरपालिकाले गरेको दरबन्दी मिलान अनुरुप शिक्षकहरु तोकिएका विद्यालयमा जान थालेका छन ।
महानगरपालिकाका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर छलफल गरेसंगै शिक्षकहरु तोकिएको विद्यालयमा जान लागेका हुन ।
धेरैजसो शिक्षकहरुले पत्र बुझेर हाजिर हुन गइसकेको र केही जाने प्रकृयामा रहेको महानगरपालिकाको शिक्षा माहाशाखाबाट बुझिन आएको छ ।
छलफलमा मेयर सिंहले शिक्षक आफूहरुकै परिवार रहेको भन्दै कुनै असहमतिका कुरा भए सडकमा गएर नभई छलफलमा आएर टुंग्याउन आग्रह गर्नुभयो ।
हामीहरु एकअर्काको पुरक भएर काम गर्नु पर्छ भन्दै मेयर सिंहले एउटै परिवारको भएकाले कहिले तलमाथि होला तर असहमतिका कुराहरु घरभित्रै बसेर छलफल गरौँ निचोड निकालेर फेरि काम थालौँ, सडकमा हल्ला गर्दै निस्कनु शोभनीय होइन भन्नु भयो ।
अहिलेको दरबन्दी मिलान विद्यार्थीको अनुपातका आधारमा गरिएकाले तोकिएको स्थानमा गएर पठन पाठनलाई सघाउन सबै शिक्षकहरुलाई आग्रह गर्नु भयो ।
महानगरको शिक्षाको गुणस्तर बृद्धिमा शिक्षकहरुकै अहम भूमिका हुने भएकाले शिक्षकहरुको पीरमर्कालाई आफूहरुले सम्बोधन गरेरै अघि बढ्न तयार रहेको पनि उहाँले बताउनुभयो ।
छलफलमा उपमेयर इम्तियाज आलमले स्थानीय सरकार संघ र प्रदेशले चलाउने नभई स्थानीयले नै चलाउने भएकाले स्थानीय सरकारले दिएको निर्देशन पालना गर्नु सबै शिक्षक कर्मचारीको दायित्व रहेको स्मरण गराउनु भयो । उहाँले महाशाखाका कर्मचारीले कमी कमजोरी गरेर दुःख दिएको भए तत्काल आफूहरुलाई जानकारी दिन आग्रह गर्दै त्यस्तो गरेको भेटिए कर्मचारीलाई कारबाही गरेर शिक्षकहरुको समस्या सम्बोधन गर्न तयार रहेको बताउनुभयो ।
छलफलमा प्रधानाध्यापकहरुले आफूहरुले दरबन्दी मिलान र सरुवाको विरोध नगरेको बताएका थिए । केही शिक्षकहरुलाई अप्ठ्यारो परेका विषयमा मात्रै आफूहरुको असहमति रहे पनि दरबन्दी मिलानको विरोधमा आफूहरु नरहेको नेपाल शिक्षक संघका महानगर अध्यक्ष प्रदीप जयसवालले बताउनुभयो ।
शिक्षकहरुलाई परेको पीर मर्का र अप्ठ्यारा सुनिदिनु पर्यो, सम्बोधन गरिदिन पर्यो, अरु कुरामा हाम्रो कुनै विमति छैन, हामीलाई जहाँ पठाए पनि जान तयार छौँ, बालबालिकालाई पढाउन तयार छौं भन्नु भयो ।
यस्तै प्रधानाध्यापक दयाकान्त झाले महानगरले गरेको दरबन्दी मिलानका बारेमा राम्रो सँग नबुझेको भन्दै बुझाउन आग्रह गर्नुभएको थियो । दिनेश चौरसियाले विद्यालयको भौतिक अवस्था सुधार गर्नु पर्ने अवस्थामा रहेको भन्दै त्यतातर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
छलफलमा शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले दरबन्दी मिलानका विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै महानगरको सोच, नगर शिक्षा समितिको निर्णय, विद्यार्थी संख्या, आवश्यकता, चार वटा अंग्रेजी माध्यमका माद्यमिक विद्यालय लगायतलाई ध्यान दिँदै दरबन्दी मिलानलाई अन्तिम रुप दिइएको बताउनुभएको थियो ।
दरबन्दी मिलान कार्यलाई पारदर्शी बनाउन शिक्षकहरुको प्रतिनिधी, संघसंगठनका प्रतिनिधी र विज्ञलाई राखेर गरिएकाले कोही पनि शंकाउपशंकामा रहनु पर्ने अवस्था नरहेको बताउनुभयो भयो ।
छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समितिका पदाधिकारी, दरबन्दी मिलान कार्यदलका सदस्य, महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -