spot_img
Homeदेशनागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्छ–मन्त्री गुप्ता

नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्छ–मन्त्री गुप्ता

ललितपुर, १३ भदौ (रासस)
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित शाखा अधिकृतहरूको ३८औँ आधारभूत प्रशासन प्रशिक्षण दीक्षान्त समारोहमा उहाँले राष्ट्र, राष्ट्रियता र नागरिकलाई सम्झेर सार्वजनिक सेवा गर्नुपर्ने उल्लेख गर्नुभयो ।
“लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षा उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गर्न पाउनु महत्वपूर्ण उपलब्धि हो, यसले यहाँहरूलाई अवसर मात्रै दिएको हैन, सामाजिक उत्तरदायित्व र जिम्मेवारी पनि दिएको हो, यसलाई आत्मसात् गरेर नागरिकमैत्री सेवा दिनुहुनेछ भन्ने विश्वास छ”, मन्त्री गुप्ताले भन्नुभयो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रदान गर्ने तालिमलाई अझ गुणस्तरीय बनाउन पहल गर्ने उहाँको भनाइ थियो ।
मन्त्रालयका सचिव भरतमणि सुवेदीले सेवा प्रवेशको अवसरमा छ महिनासम्म सिकेका सिद्धान्त, कानुन तथा इतिहासलाई नेपालको आवश्यकता र सेवाग्राहीको भावनामा आधारित रहेर सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।
“समुन्नत राष्ट्र बनाउनेतिर लाग्नुपर्छ, निजामती सेवाले ठूलो पहिचान दिनेछ, तपाईंको कामले भविष्यको पुस्ताले सम्मान गर्ने वातावरण बनोस्, नागरिकले सम्मान र सन्तुष्टि महसुस गर्ने गरी काम गर्नुहोस्”, उहाँले भन्नुभयो । सचिव सुवेदीले नेपालमा भविष्य छैन भन्ने भाष्यलाई चिर्दै आफ्नो भविष्य बनाउँदै र देशलाई लाभ हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनालले निजामती कर्मचारीको व्यावसायिक क्षेत्रमा प्रवेश गर्दै गरेका शाखा अधिकृतहरूले ज्ञानलाई सीपमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पोखरेल कार्यदक्षता देखाएर काम गर्न आग्रह गर्नुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -