काठमाडौँ, ९ भदौ (रासस)
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनचाहनालाई सम्बोधन गर्न पार्टीले संघर्ष गर्ने बताउनुभएको छ ।
पार्टीको बागमती प्रदेश समितिले आज यहाँ आयोजना गरेको जनतासँग जसपा नेपाल अभियान अभिमुखीकरणको उद्घाटन गर्नुहुँदै उहाँले अभियानको समापनसँगै जनतालाई साथमा लिएर सडक संघर्षमा जाने उल्लेख गर्नुभयो । “जनतालाई अधिकार सम्पन्न बनाउन पुनः जनताका मुद्दा लिएर घरदैलोमा पुग्छौँ, परिवर्तनको संघर्षमा होमिन अपिल गर्छौं”, उहाँले भन्नुभयो ।
अध्यक्ष यादवले संगठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हक अधिकारको पैरवी गर्ने उद्देश्यले अभियान सुरू गर्न लागिएको जानकारी दिनुभयो । यसैगरी उहाँले संविधानलाई समयसापेक्ष परिमार्जन गर्न अपरिहार्य रहेको र सबै राजनीतिक दलको समझदारीबाटै त्यसलाई अगाडि बढाइनुपर्ने धारणा राख्नुभयो । क्षेत्र, जनसंख्याको आधारमा राज्यका निकायमा सहभागी गराउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा कार्यकारिणी समिति सदस्य राजकिशोर यादव, गोविन्द चौधरी, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, लीला सिटौलालगायतले आˆनो धारणा राख्नुभएको थियो ।
जसपा नेपालले आजबाट संगठन विस्तारको चार महिने अभियान शुभारम्भ गरेको छ । पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी मङ्सिर मसान्तसम्म आधारभूत संगठन निर्माण अभियान सुरू गरिएको जसपाले जनाएको छ ।
चार महिने संगठन निर्माण अभियानका लागि केन्द्रीय सदस्यलाई सम्बन्धित क्षेत्रमा खटाइएको छ । अभियान सञ्चालन गर्न समयावधि निर्धारण गरी केन्द्रीय सदस्यलाई प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा, बुथलगायत स्थानीयस्तरमा अभियान सञ्चालन गरिनेछ । प्रदेशस्तरीय अभियान तालिकानुसार भदौ १५ मा जनकपुर, १६ मा वीरगंज, १८ मा विराटनगर, १९ गते पोखरा, २३ गते भैरहवा, २४ गते नेपालगञ्ज र २५ गते धनगढीमा कार्यक्रम हुनेछ ।
फ्रदेशस्तरीय कार्यक्रम सकेर स्थानीयस्तरको कार्यत्रम सञ्चालन हुनेछ । देशव्यापी रूपमा हुने जनपरिचालन अभियानमा सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।
Facebook Comments Box