सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ साउन ।
वीरगंज महानगरका मेयर राजेशमान सिंहले बृक्षारोपण कार्यक्रम प्राथमिकताका साथ अभियानको रुपमा अगाडि बढाइएको बताउनु भएको छ ।
“जहाँ खाली, त्यहाँ हरियाली” भन्ने नारा सहित वीरगंज महानगरपालिकाले संचालन गरेको वृक्षारोपण अभियानका क्रममा मेयर सिंहले बृक्षारोपणले हरित सहर बनाउन मद्धत पुग्नुका साथै सडक सौन्दर्य पनि झल्किने भएकाले अभियान संचालन गरेको बताउनु भयो ।
उहाले सडक डिभाइडर तथा महानगरभित्रका सार्वजनिक तथा ऐलानी जग्गाहरुमा बृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिएको बताउनुभयो ।
वीरगंज महानगरपालिकाले ड्राइपोर्ट परवानीपुर सडकलाई हरियाली बनाउन बृक्षारोपण कार्यलाई निरन्तरता दिएको छ ।
आइसीपीदेखि हरपतगंज चोकसम्मको डिभाइडरमा वृक्षारोपण गरेर हरियाली बनाइसकेको महानगरले बिहीबार अपौनीतर्फको सडक डिभाइडरमा बृृक्षारोपण गरेको हो ।
ड्राइपोर्टदेखि परवानीपुरसम्मै सडकको डिभाइडरमा बृक्षारोपण गर्ने लक्ष्य रहेको महानगरले जनाएको छ ।
महानगरले शंकराचार्यद्वारदेखि गण्डकसम्मको बाइपास सडकमा बृक्षारोपण गरिसकेको छ । अब बांकी रहेका सडक डिभाइडर तथा किनारामा बृक्षारोपण गर्ने कार्यलाई अघि बढाइएको मेयर सिंहले बताउनुभयो ।
महानगरले ड्राइपोर्ट परवानीपुर सडकको डिभाइडरमा म्यांगो स्टिक, गुल्मोहर, पिपल, समी (फाइकस बेन्जाइना), अशोक, निम लगायत विभिन्न प्रजातीका बिरुवा रोपेको छ । बिहीबार ५ सय बिरुवा रोपिएको महानगरपालिकाको वातावरण शाखा प्रमुख राकेश जयसवालले जानकारी दिनु भयो ।
बृक्षारोपण कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, डिभिजन वन कार्यालयका प्रमुख सुनिललाल कर्ण लगायतको सहभागिता रहेको थियो ।
Facebook Comments Box