spot_img
Homeदेशसिंगो कार्यालय एउटै कोठामा, बजेट तीन वर्षदेखि फ्रिज

सिंगो कार्यालय एउटै कोठामा, बजेट तीन वर्षदेखि फ्रिज

सर्लाही, २९ साउन (रासस)
जिल्ला कृषि ज्ञान केन्द्रको सिंगो कार्यालय एउटै कोठाबाट सञ्चालन भएको लामो समय भइसकेको छ ।
कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिंगो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नु परिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले बताउनुभयो ।
जिल्ला सदरमुकाम मलंगवामा रहेको साविक जिल्ला कृषि विकास कार्यालय स्थानीय तह निर्वाचनपछि जिल्ला कृषि ज्ञान केन्द्रमा रूपान्तरण भएको थियो ।


पुराना भवन प्रयोगको अवस्थामा नरहेपछि कार्यालय एउटा कोठामा खुम्चिएको हो । “पहिलो बनेको भवन अत्यन्त जीर्ण अवस्थामा छ”, उहाँले भन्नुभयो, “भवनको भित्ता सबै उप्किएको छ । छतबाट वर्षातमा पानी सबैभित्र पस्छ ।”
भवन निर्माणका यस कार्यालयले चार वर्ष पहिले रु पाँच लाखमा परियोजना विस्तृत विवरण (डिपिआर) तयार गरी प्रदेश मन्त्रालयमा बुझाएको छ । डिपिआर स्वीकृत भएकाले भवन निर्माणका लागि विनियोजित बजेट बर्सेनि फिर्ता भइरहेको कार्यालय प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार गत तीन वर्षदेखि यस कार्यालय निर्माणका लागि बजेट रु तीन करोड ८५ लाख फ्रिज भइसकेको छ ।
कार्यालय भवन निर्माणका लागि आव २०७७/७८ मा रु ५० लाख, आव २०७८/७९ मा रु दुई करोड र आव २०७९/८० मा रु एक करोड ३५ लाख बजेट डिपिआर स्वीकृत नभएकै कारण फिर्ता भएको छ ।
“हामी पटक–पटक प्रदेशस्थित मन्त्रालयमा पुग्यौँ”, उहाँले भन्नुभयो, “डिपिआर स्वीकृत गरिपाउँ भनेर अनुरोध गरेका छौँ । तर काम भएको छैन ।”
कार्यालय व्यवस्थापन हुन नसक्दा कृषि कार्यक्रमका लागि आएका अधिकांश बजेट यसै फ्रिज हुने गरेको उहाँले बताउनुभयो । कार्यालयमा नौ जना प्राविधिकसहित १५ जनाको दरबन्दी भए पनि हाल प्रमुखसहित तीन जना प्राविधिक, सहयोगी, ड्राइभर, कम्प्युटर अपरेटर गरी सात जना कर्मचारी छन् ।
गत आर्थिक वर्ष कृषि सिँचाइका लागि विनियोजित रु चार करोड १० लाख बजेट आधा मात्रै खर्च भएको कृषि अधिकृत सीताराम यादवले बताउनुभयो । कृषि बजार तथा कृषि सडक निर्माणका लागि विनियोजित बजेट फिर्ता गएको उहाँको भनाइ छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -