spot_img
Homeदेशनदीमाथि पुल निर्माणको माग गर्दै इन्जिनियर नै प्रदर्शनमा

नदीमाथि पुल निर्माणको माग गर्दै इन्जिनियर नै प्रदर्शनमा

सिरहा, २६ साउन (रासस)
हुलाकी राजमार्गअन्तर्गत सिरहा धनुषा जोड्ने कमला नदीमा पुल निर्माणको माग गर्दै सिरहाको सदरमुकाममा बिहीबार प्रदर्शन भयो ।
कमला पुल निर्माण संघर्ष समितिको आहृवानमा प्रदर्शन भएको यो पहिलो पटक होइन । यहाँ पटकपटक यस्तै आन्दोलन तथा प्रदर्शन भइरहेका छन् ।
यसपटक प्रदर्शनमा सहभागीहरूले पटकपटक गरिएका प्रदर्शन र विरोध सुनिदिने राज्यको निकायमा कोही छ र ? भनि आफैँसँग प्रतिप्रश्न गरिरहेका थिए ।
“भासिएको कमला पुल राष्ट्रिय गौरवको आयोजना किन राज्यले अड्काएर राखेको ? यो कस्तो नीति हो, एउटा पुलको केही भाग बनाउन पनि बर्सौ लाग्ने ?”, सिरहाका ललित यादवले प्रश्न गर्दै भन्नुभयो,“१४ वर्षमा एउटा पुल बनाई जनतालाई हस्तान्तरण गर्न नसक्ने कुरै भएन । यहाँ इच्छाशक्तिको कमी वा नेतृत्वको नियतमा खोट भएकाले हामी प्रदर्शन गर्न बाध्य छौँ तर सुनिदिने कसले ?”
भासिएको पुल निर्माणका लागि स्थानीयले सुरूदेखि नै विभिन्न माध्यमबाट ध्यानाकर्षण गराइरहेका छन् ।
“पुल नहुँदा हामीले वर्षौँदेखि सास्ती खेप्दै आएका छौँ, सरकारले आफैँ सोच्नुपर्थ्यो तर हामीले आन्दोलन गर्दा पनि सुनुवाइ भएको छैन, यो दुर्भाग्य हो”, संघर्ष समितिका संयोजक इन्जिनियर प्रवीण यादवले भन्नुभयो । पटकपटक माग सुनुवाइ नभएपछि अब निर्णायक संघर्षमा उत्रिनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
“बिहीबार जिल्लामा प्रदर्शन गर्‍यौँ, अब आइतबार सिरहाको बसबिट्टाबाट धनुषाको जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मोटरसाइकल जुलुससहित सरोकारवाला निकायलाई झकझक्याउन जाँदैछौँ”, संयोजक यादवले भन्नुभयो,“हाम्रो आवाज कसले सुन्ने हो ? नजिकको सरकार त प्रदेश नै हो, त्यसैले त्यहाँ ध्यानाकर्षण गर्छौं । त्यसपछि थप रणनीति बनाउँछौँ ।”
कमला नदीमा बनेको पुल उद्घाटनका लागि ठिक्क पारेका बेला बाढीले विसं २०७८ असार १७ गते पुलको पाया भासिएको थियो । तीन वर्ष बितिसक्दा पनि त्यसको पुनःनिर्माण हुनसकेको छैन ।
यहाँ चार सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी रु २४ करोड ९१ लाखमा विसं २०६८ मङ्सिरमा पुलको शिलान्यास भएको थियो ।
विसं २०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट ठेक्का खोसेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई २०७८ असार १३ भित्र काम सक्नेगरी जिम्मा लगाएको थियो । पटकपटक म्याद थपेर अन्तिम चरणमा पुगेको बेला पुल भासिएपछि हालसम्म निर्माण हुनसकेको छैन ।
यसपटक पुल निर्माणका लागि सिरहाका सरकारी निकायमा कार्यरत इन्जिनियरहरूले नै संघर्ष सुरू गरेका छन् ।
यहाँका इन्जिनियरहरूले नेपाल इन्जिनियरिङ एशोसिएनको चुनाव पनि बहिष्कार गर्दै दबाब बढाउने निर्णय गरेका छन् । हुलाकी सडकखण्डमा सप्तरी, सिरहा र धनुषातर्फ सडक कालोपत्र भई सञ्चालनमा रहे पनि कमला पुल बन्न नसक्दा समस्या भइरहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -