धनुषा, २४ साउन (रासस)
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज एक मन्त्रालयसहित चार कार्यालयमा छड्के निरीक्षण गर्नुभएको छ ।
उहाँले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के निरीक्षण गर्नुभएको हो ।
कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्नेजस्ता गुनासा आएकाले छड्के निरीक्षण गरिएको मुख्यमन्त्री सिंहले बताउनुभयो । उहाँले एक आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्षको साउन र भदौमा कर्मचारी कार्यालयमा नभेट्ने परिपाटी नै बनिसकेकाले अनुगमन सुरु गरेको बताउनुभयो ।
छड्के अनुगमनपछि मुख्यमन्त्री सिंहले सञ्चारकर्मीसँग भन्नुभयो, “छड्केको क्रममा कार्यालयको निर्धारित समयमा कर्मचारी नआउने, आए पनि हाजिर नगरी बाहिर हिँड्डुल गर्ने र छड्केमा परेपछि कार्यालयमै रहेको तर हाजिरी गर्न बिर्सेको बहानाबाजी गर्ने प्रवृत्ति भेटिएको छ ।” उहाँले कर्मचारी कार्यालयमा हाजिरी भइसकेपछि बाहिर जानुपर्दा कामको जानकारी गराई आदेश लिएर मात्र जानुपर्ने बताउनुभयो ।
“यदि कर्मचारी बिदामा बसेका छन् भने बिदा स्वीकृत गराएर मात्र बिदा बस्नुपर्छ,” मुख्यमन्त्री सिंहले भन्नुभयो, “कर्मचारीको जुन काम कर्तव्य, जिम्मेवारी छ, त्यसअनुसार सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्छ, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्छ ।” उहाँले कार्यालय अनुगमनलाई निरन्तरता बताउनुभयो ।
यसअघि साउन ६ गते पनि मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका ११ वटा मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको थियो । त्यतिबेला उहाँले अर्थ, गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास, स्वास्थ्य तथा जनसंख्या, ऊर्जा सिँचाइ तथा खानेपानी, शिक्षा तथा संस्कृति, उद्योग, वाणिज्य तथा पर्यटन, श्रम तथा यातायात र खेलकुद तथा समाज कल्याण मन्त्रालयको निरीक्षण गर्नुभएको हो ।
मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के
छड्केमा परेपछि हाजिरी गर्न बिर्सेको बहानाबाजी गर्ने प्रवृत्ति भेटियो
Facebook Comments Box