वीरगंज, ६ श्रावण ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले आदर्शनगरस्थित माँ दुर्गा रोड क्यारियर्सको गोदाममा छापामारी गरी लाखौंको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनको कमाण्डमा खटिएको टोली र वीरगंज भन्सार कार्यालय पर्साबाट नायब सुब्बा बिष्णु प्रसाद चौधरी सहितको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा छापामारी गरेको थियो ।
वीरगंज महानगरपालिका –१० आदर्शनगर स्थित रहेको माँ दुर्गा रोड क्यारियर्सको गोदाममा खोजतलास गर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याई गोदाममा भण्डारण गरी लुकाई छिपाई राखेको रु. २० लाख २५ सय मूल्य बराबरको सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सो गोदाममा आलमण्ड, छोकडा, काजु, कपडा तथा मिटमसलाका सामानहरु फेला पारेको हुँदा उक्त सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।